वीरगंज– वीरगंज आईसिपी भन्सार नाकाबाट केराउ तस्करी भइरहेको रहस्य खुलेको छ। आज विहान रक्सौलमा एसएसबीले २२ टन केराउ लोड गरिएको दुई वटा ट्रक नियन्त्रणमा लिएपछि यस्तो धन्दा सार्वजनिक भएको हो।
समुन्द्रपारको देशबाट नेपाल आयात गरी महंगोमा केराउ बेच्न तस्करहरुले ठुलो परिमाणमा भन्सार नाकाबाटै केराउको तस्करी गरिहेको घटना सार्वजनिक भएको हो।
एसएसबी रक्सौलले एम०३ एचएस ८९०९ र बिआर ०६ डि २८३८ नम्बरको दुई वटा केराउ लोड गरिएको ट्रक चेकजाँचको क्रममा फेला पारेपछि भन्सार नाकाबाट भन्सार कर्मचारी र क्लियरिग एजेन्टको मिलोमतोमा तस्करी भइरहेको पुष्टि भएको छ।
दुइ वटै ट्रकमा ११/११ टन गरी कुल २२ टन केराउ फेला परेको रक्सौलका पत्रकार राजेश केशरीवालले बताएका छन्। एसएसबीले दुबै ट्रकका दूई जना चालकसहित नियन्त्रणमा लिएर कारवाहीको लागि रक्सौल भन्सारमा बुझाएको छ।
सोमवार राति ती ट्रकहरु आईसिपीबाट पास भएको थिए।ट्रकमा लोड गरिएको केराउ वीरगंजको जयमा विन्दवासिनी इम्पेक्टको रहेको एसएसबीले जनाएको छ।
भन्सार अधिकारी भन्छन्–केही थाहा छैन्
वीरगंजको आईसिपी हेर्ने वीरगंज भन्सारका भन्सार प्रशासक श्याम भण्डारीले यस घटनाबारे केही जानकारी नरहेको बताएका छन्। ‘मैले पनि तपाईँहरुबाटै सुनिरहेको छु,’ उनले भने, ‘कसरी के भएको हो, थाहा छैन, म पनि भारतीय कस्टमका अधिकारीसंग बुझिरहेको छु।’
वीरगंज भन्सारका सूचना अधिकारी मनिष महतोले विदेशबाट आयात गरिएको केराउ भारतमा निर्यात गर्न नमिल्ने बताए। ‘विदेशको केराउ भन्सार नाकाबाट भारतमा निर्यात गर्नु गैरकानुनी हो,’ उनले भने, ‘नेपालमा उत्पादित केराउ मात्र नेपालबाट भारत निर्यात गर्न पाइन्छ।’ उत्पादित केराउको कन्ट्री अफ ओरिजन नेपाल उद्योग वाणिज्य संघले सिफारिस गर्यो भने मात्र नेपालबाट केराउ निर्यात गर्ने प्रावधान रहेको उनले बताए।
केराउको आयात भयावह
विदेशबाट नेपालमा आयात हुने केराउको परिमाणमा उच्च वृद्धि भएको पाइएको छ। वीरगंजस्थित सिर्सिया सुख्खा बन्दरगाहका सुचना अधिकारी विकास कुमारका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा केराउको आयात दुई गुणाले वृद्धि भएको छ।
चालू आर्थिक वर्षको १० महिनामा २८ करोड ४४ लाख ८८ हजार राजस्व असुल गरी ५ अर्ब २४ करोड २८ लाख २० हजार मूल्य बराबरको १३ करोड ५ लाख ४८ हजार ८ सय किलो केराउ आयात भएको छ भने आर्थिक वर्ष २०७४÷०७५मा १० करोड ७९ लाख १४ हजार राजस्व असुल गरी १ अर्ब ९१ करोड २ लाख १४ हजार मूलय बराबरको ५ करोड १ लाख १४ हजार ७ सय २ किलो सेतो केराउ आयात भएको थियो।