काठमाडौँ, २९ पुस – नेपाली चलचित्र जगतका चर्चित नायक आर्यन सिग्देल अब कमेडी चलचित्रमा खेल्ने भएका छन्। प्रायः लभर ब्वाईको भूमिकामा देखिने आर्यनलाई यस पटक कमेडी कलाकारका रूपमा देख्न सकिनेछ।
निर्देशक साम्तेन भुटियाको निर्देशनमा तयार हुने कमेडी चलचित्रमा आर्यन मुख्य भूमिकामा रहनेछन् ।चलचित्रको कथावस्तुले आर्यनलाई मागेकाले उनलाई चलचित्रमा लिएको निर्देशकले बताए। उनी भन्छन्, ‘मेरो स्क्रिप्टले नै आर्यनलाई खोज्यो र मलाई विश्वास छ, आर्यनले कमेडी चलचित्रलाई पनि राम्रो न्याय गर्न सक्छन्।’
यस चलचित्रलाई लिएर आर्यन निकै उत्साहित भएको निर्देशकले बताए। निर्देशकले भने, ‘आर्यन पनि केही नयाँ गरौँ भन्ने सोचमा रहेका थिए, मैले उनको भित्री इच्छा बुझेर नै उनलाई कमेडी चलचित्रका लागि अफर गरेको थिएँ।’
उक्त कमेडी चलचित्रको फागुन १ गतेबाट छायांकन हुने निर्देशकले बताए। चलचित्रमा कलाकार भोलाराज सापकोटा पनि खेल्ने फाइनल भएको छ। चलचित्रका लागि साम्तेनले माओत्से गुरुङसँग पनि कुरा भइरहेको बताएका छन्। यस कमेडी चलचित्रका लागि नायिकाको फाइनल भएको तर अहिले नै नाम उल्लेख नगर्ने र केही दिनमै कार्यक्रम गरेर नायिका तथा चलचित्रको नाम खुलाउने निर्देशकले जानकारी दिए।