काठमाडौँ, २९ पुस – नेपाल साङ्गीतिक सङ्घको १९औँ साधारणसभा सम्पन्न भएको छ। गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वलीको प्रमुख आतिथ्य र वरिष्ठ गायक प्रेमध्वज प्रधान, जगतमर्दन थापा र प्रसिद्ध सङ्गीतकार दीपक जङ्गमको विशिष्ट आतिथ्यमा सङ्घको साधारणसभा सम्पन्न भएको हो।
वलीले साङ्गीतिक क्षेत्रको सहयोगका लागि सरकारलाई आफुले बारम्बार घच्घच्याइरहेको बताउँदै सङ्घमा पनि विशेष बजेटका लागि पहल गर्ने बताइन्। उनले साङ्गीतिक सङ्घको वर्तमान नेतृत्वले गरेको योगदानको सराहनासमेत गरेकी थिइन्।
विशिष्ट अतिथि जङ्गमले साङ्गीतिक सङ्घले १९औँ वर्ष यात्रा गरिरहँदा आगामी दिनमा अझै सशक्त र क्रियाशील हुनुपर्ने सुझाव सहितको शुभकामना दिएका थिए।
कार्यक्रममा अर्का विशिष्ट अतिथि प्रेमध्वज प्रधानले साङ्गीतिक सङ्घले कुरा मात्र हैन, काम पनि गर्दै आएकाले वर्तमान नेतृत्वलाई बधाई तथा धन्यवादसहितको शुभकामना दिएका थिए। कार्यक्रम संघका अध्यक्ष मिलन माेक्तानकाे अध्यक्षतामा भएकाे थियाे।