धनगढी – निर्माण कार्यमा ढिलासुस्ती र लापरबाही गरिएको भन्दै स्थानीयले मोहनापुल–अत्तरिया छ लेन सडक बन्द गरेका छन्। सडक निर्माणमा ढिलाइ गरिरहेको निर्माण व्यवसायी र आयोजना कार्यालयले केही दिनयता पानी हाल्नसमेत छाडेको भन्दै आन्दोलित स्थानीयले सडकमा आवतजावत बन्द गरेका हुन्।
उनीहरुले सडक निर्माणमा भएको ढिलाइकै कारण उडिरहेको धुलोले मानवीय स्वास्थ्यमा समेत असर पुगे पनि सम्बन्धित निकायले वेवास्ता गर्दै आएको भन्दै छ लेन सडकको शहिद गेट नजिकै बन्द गर्दै सवारी साधन आवातजावतमा रोक लगाएका छन्।
सडक निर्माणमा भएको ढिलासुस्तीले आसपासका नागरिकले भोग्नुपरेको सास्तीका विषयमा सम्बन्धित निकाय मौन रहेको स्थानीयको आरोप छ। स्थानीय चक्र रावलले प्रदेश सरकार र धनगढी उप–महानगरपालिकाले सडकको धुँलो नियन्त्रणका लागि पानीको व्यवस्थापनमा चासो नदिएको आरोप लगाए।
छ लेन सडकको मोहनापुलदेखि बोराडाँडीसम्मको एक नम्बर ठेक्कामा चार दिनयता निर्माण कार्य ठप्प रहेको छ भने सडकमा पानी समेत नहाल्दा जनजीवन अस्तव्यस्त बनेको छ।