काठमाडौँ – पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणको अवधि अब चार वर्ष मात्रै बाँकी छ। २०६४/०६५ सालबाट निर्माण शुरु गरिएको राजमार्गको काम २०७३/०७४ मा सम्पन्न गर्ने योजना थियो। तर त्यतिबेला राजमार्ग निर्माणको आधा काम पनि पूरा भएन। सरकारले फेरि उक्त आयोजनाको काम पाँच वर्ष थपिदियो।
अहिले राजमार्ग निर्माणको काम चलिरहेको छ। महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको सबैभन्दा ठूलो यो राजमार्ग निर्माण गर्न सरकारले यस आर्थिक वर्षमा मात्रै साढे ११ अर्ब रुपैयाँ बजेट निकासा गरिसकेको छ। यस्तै सरकारले मध्यपहाडी लोकमार्गका लागि आउँदो आर्थिक वर्षमा १३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ। अहिले राजमार्ग निर्माणको काम तीव्रताका साथ भइरहेको छ।
अहिले सरकारले यो आयोजनालाई पाँच भागमा विभाजन गरेको छ। पहिला पूर्व–पश्चिम दुई भागमा छुट्याएर राजमार्ग निर्माणको काम भएको थियो। अहिले पाँचवटा क्षेत्रीय कार्यालय स्थापना गरेर काम भइरहेको छ। पाँचवटा कार्यालयहरु पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा रहेका छन्।
मध्यपहाडी योजना कार्यालय पाँचथर
मध्यपहाडी लोकमार्ग कार्यालय पाँचथरलाई पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी र भोजपुर जिल्लाको निर्माणको काम जिम्मा लगाइएको छ। यो क्षेत्रीय कार्यालयले चियोभन्ज्याङ–गणेशचोक–जोरसाल–तमोर–संक्रान्ति–म्याङलुङ–बसन्तपुर–हिले–लेगुवाघाट–भोजपुर सडकखण्डको काम गरिरहेको छ। यस भाग अन्तर्गत ३ सय ३४ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ।
मध्यपहाडी योजना कार्यालय काभ्रे
यो योजना कार्यालयले भोजपुर–खोटाङ–ओखलढुंगा–उदयपुर–सिन्धुली–रामेछाप–काभ्रे जिल्लाको सडक निर्माणको जिम्मा लिएको छ। यस कार्यालयअन्तर्गत भोजपुरको चखेवा–दिक्तेल–हलेसी–जयरामघाट–हिलेपानी–घुर्मी–खुर्कोट–राकाथुम–दोलालघाट–बाहुनेपाटी–पाटीभञ्ज्या जोड्ने सडक निर्माण भइरहेको छ। यस क्षेत्रमा ३७७ लम्बाई किलोमिटरको सडक निर्माण गर्नुपर्ने हुन्छ।
मध्यपहाडी योजना कार्यालय गोरखा
मध्यपहाडी योजना कार्यालय गोरखाले सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की जिल्लाको सडक निर्माणको काम हेर्छ। यस योजनाअन्तर्गत पाटीभञ्ज्याङ–छहरे–ढिकुरे–गंगते–देउडी–सामरीभञ्ज्याङ–भर्याङभुरुङ–थर्पु–कटुन्जे–लपाङ–किन्ताङफेदी–आँपचौर–गोलाम्चौर–चौतार–गोलाम्चौर–चौतारा–सुरेनी–आर्खेत–मंगलटार–आरुटार–सिमल्फेदी–ओखले–घ्याम्पेसाल–नयाँसपँ–पालुङटार–चेपे–पौदिधिक–सुन्दरबजार–किरिचें–रातमाटा–भोर्लेटार–करापुटार क्षेत्र सडक सञ्जालबाट जोडिएका छन्। यस क्षेत्रअन्तर्गत २६१ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ।
मध्यपहाडी योजना कार्यालय पर्वत
यो योजना कार्यालयले कास्की, पर्वत, बाग्लुङ, रुकुम जिल्लामा पर्ने सडकको काम हेर्दछ। यस सडकखण्डले करापुटार–भगवतीटार–कहँ–भलाम–लामाचौर–याम्दीपुल–नयाँपुल–कुस्मा–मालढुंगा–बाग्लुङबजार–घोडाबाँधे–हटिया–बुर्तिबाङनिशी–पतिहालनेलगायतको क्षेत्र जोडेको छ। यस क्षेत्रअन्तर्गत २४५ किलोमिटर सडक निर्माण हुनेछ।
मध्यपहाडी योजना कार्यालय दैलेख
यस योजना कार्यालय अन्तर्गत रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेल्धुरा र बैतडी जिल्ला पर्दछन्। यस क्षेत्रको सडकमार्गले पातिहलने–लकुमगाउँ–रुकुमकोट–शितलपोखरी–शेरिगाउँ–शासीबाङ्ग–चौरजहारी–कार्कीगाउँ–थलहबजार–बदबन–सुयादा–मनगर–बेसतादा–लोहोरे–दैलेख–रावतकोट–लैनचौर–रामघाट–शाहिजिउला–बेल्खेत–बिनायक–गौरितांड–मंगलसेन–कैलासखोला–बयलपाटा–साँफेबगर–चौखुट्टे–सिलगढी–सयउले–अनार्खोली–पाटन–त्रिपुरासुन्दरी हुँदै झुलाघाटसम्म जोड्नेछ। यस क्षेत्र अन्तर्गत ६ सय ६१ किलोटिर सडक पर्दछ।
अहिलेको प्रगति
मध्यपहाडी राजमार्गअन्तर्गत कोशी करिडोरको १४७ किमीसहित दुई हजार २६ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ। मध्यपहाडी लोकमार्गको कुल लम्बाइ भने १८७९ किलोमिटर हुनेछ। मध्यपहाडी लोकमार्गअन्तर्गत अहिलेसम्म ७६२ किलोमिटर लम्बाइको सडक कालोपत्रे भइसकेको छ। त्यस्तै १०९२ किलोमिटर सडक कच्ची रहेको छ। अहिलेसम्म १७६७ किलोमिटर क्षेत्रमा सवारी सञ्चालन भइरहेको छ। यो राजमार्गअन्तर्गत अहिलेसम्म ६७ पुल निर्माण भएका छन्। अहिलेसम्म ३८.९ प्रतिशत काम सम्पन्न भएको छ।
पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चिवाभन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २६ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ।
यो लोकमार्गले मध्य पहाडका २६ जिल्लाका बस्तीलाई सडक सञ्जालमा जोड्दा एक करोडभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्नेछ। मध्यपहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ।
त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ। यो मार्गको मध्यबिन्दू नुवाकोटको पातीभन्ज्याङलाई बनाइएको छ। शुरुमा काठमाडौं जोड्ने भनिए पनि यो आयोजना पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको हो।
राष्ट्रिय यातायात नीति २०५८ बाट मध्यपहाडी लोकमार्गको परिकल्पना भएको हो। परिकल्पना गरेको ६ वर्षपछि मात्र यो राजमार्ग बन्न थाल्यो। अहिले यसको काम धमाधम काम भइरहेको छ।
बन्दैछन् १० नयाँ शहर
निर्माणाधीन मध्यपहाडी लोकमार्गको आधारमा शहरी विकास मन्त्रालयअन्तर्गत १० वटा नयाँ शहर विकासको काम अघि बढेको छ। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले दिएको जानकारी अनुसार १० वटै शहरमा अत्यावश्यक शहरी पूर्वाधार निर्माणको काम भइरहेको छ।
निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक नयाँ शहर निर्माणको काम अघि बढिरहेको छ। चौरजहारी, खुर्कोट र फिदिममा जग्गा छनौटको र एकीकरणको सम्भाव्यता भइरहेको छ। यस्तै पाटन, साँफेबगर, बुर्तिबाङ्ग, डुम्रे भन्सार र फिदिममा सडक तथा नाली निर्माण कार्यहरु भइरहेको छ। राकम कर्णाली, र वसन्तपुरमा जग्गा एकीकरणको काम भएको छ।

नयाँ शहर निर्माणको काम २०७०/७१ बाट थालिएको हो। यो आयोजना २०९० सालमा पूरा गर्ने सरकारको लक्ष्य छ। सरकारको उद्देश्य यी प्रत्येक शहरमा एक लाख जनसङ्ख्यालाई बस्नको लागि स्थान दिने रहेको छ। यी शहर निर्माण गर्न १५ अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ।
मध्यपहाडी लोकमार्ग निर्माणका लागि सरकारले प्रत्येक आर्थिक वर्षमा बजेट छुट्याउँछ। आवश्यक बजेट अपुग भएका पुष्पलाल लोकमार्ग योजना कार्यालयले आवश्यक बजेटको माग गर्छ। सरकारले थप बजेट दिएर काम अघि बढ्ने गरेको पुष्पलाल लोकमार्ग केन्द्रीय कार्यालयले जनाएको छ। सरकारले आर्थिक बर्ष २०७४/७५ का लागि पूर्वी खण्डका लागि ३ अर्ब र पश्चिम खण्डको लागि २ अर्ब ९८ करोड छुट्याइएको थियो।
९ मिटर चौडाईको सडक बन्ने
यो सडक दुई लेनमा निर्माण भएको छ। सडक ९ मिटर चौडाईको हुनेछ। लेन ३.७/३.७ मिटरको हुनेछ। बाँकी दुई मिटर बस्ती भएको फुटपाथ अन्य ठाउँमा नालीको लागि प्रयोग गरिने आयोजनाले जनाएको छ।
मध्यपहाडी लोकमार्ग निर्माण केन्द्रीय आयोजनाले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ९० किलोमिटर कालोपत्रे हुनेछ। त्यसका लागि आवश्यक बजेट ५ अर्ब ४३ करोड लाग्ने अनुमान छ।
आर्थिक वर्ष ०७६/०७७ मा ४२५ किलोमिटर कालोपत्रे गर्ने आयोजनाको लक्ष्य छ। त्यसका लागि बजेट १८ अर्ब ५० करोड बजेट चाहिनेछ। आर्थिक वर्ष ०७७/०७८ मा ३०३ किमी कालोपत्रे गर्ने आयोजनाले लक्ष्य निर्धारण गरेको छ। त्यसका लागि १६ अर्ब १९ करोड लागत लाग्नेछ। आर्थिक वर्ष ०७८/०७९ मा यो राजमार्ग निर्माणको काम सम्पन्न गर्ने सरकारको तयारी छ। त्यो आर्थिक वर्षमा ३३१ किमी सडक कालोपत्रे गर्ने आयोजनाको लक्ष्य छ। त्यसका लागि ९ अर्ब ६४ करोड बजेट आवश्यक पर्नेछ।