काठमाडौं– विश्वकप क्रिकेटमा पाकिस्तानले लज्जास्पद शुरुआत गरेको छ। पहिले व्याटिङ गरेर १ सय ५ रनमै समेटिएको पाकिस्तान वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भयो। यसका लागि वेष्ट इन्डिजले १३ ओभर ४ बलमात्र खर्चियो।
वेष्ट इन्डिजलाई सुखद शुरुआत गराउने क्रममा ओपनर क्रिस गेलले आक्रामक शुरुआत दिलाए। यसक्रममा ३४ बलको सामना गरेका गेलले ३ छक्का र ६ चौकाको मदतमा ५० रन बनाए।
अर्का ओपनर शाइ होप भने छिट्टै पभेलियन पर्किए। १७ बल खेलेका उनले १ चौकासहित ११ रनमात्र बनाउन सके। त्यसपछि क्रिजमा आएका डरेन व्राभो भने शुन्यमै आउट भए।
निकोलस पुरनले भने आक्रामक व्याटिङ गरे। उनले १९ बलमा ३४ रन बनाउने क्रममा ४ चौका र २ छक्का प्रहार गरे।
यसअघि पहिले व्याटिङ गरेको पाकिस्तान २१ ओभर ४ बलमै समेटियो। पाकिस्तानलाई सस्तोमा समेट्ने क्रममा ओशेन थोमसले ४, कप्तान जेसन होल्डरले ३ र आन्द्रे रसेलले २ विकेट लिए।
व्याटिङतर्फ पाकिस्तानका फाकर जमान र बाबर आजमले समान २२–२२ रन बनाए। यसैगरी महमद रियाजले १८ र महमद हफिजले १६ रन बनाए। त्यसवाहेक अन्य पाकिस्तानी व्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।