काठमाडौँ – प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ। सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो।
सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो। जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ। बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए।
गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ। स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ। म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ। भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ।
‘परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ’, सपुतले भने, ‘राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु।’ मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन्।
म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ। लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ। ‘एकदमै रमाइलोका लागि बनाइएको गीत हो’, सपुतले भने, ‘भिडियोमा नयाँपन दिने प्रयास गरेको छु।’
कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन्। सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा देखिएका छन्।
गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसावले पनि सपुत सफल देखिनुभएको छ। भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन। रासस