पोखरा – पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पहिलोपटक बिजनेस टू बिजनेस (बीटूबी) व्यावसायिक छलफल आज (आइतबार) यहाँ सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त रूपमा आयोजना गरेको सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र कम्बोडिया गरी २७ जना टुर अपरेटरको सहभागिता थियो।
सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बीटूबीका माध्यमबाट पोखरालगायत समग्र नेपालमा पर्यटक आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे।
कार्यक्रम संयोजक टीकाराम सापकोटाले आगामी वर्ष पोखरा ट्राभल मार्ट आयोजना गर्नमा यो व्यावसायिक छलफल सहयोगी हुने बताए।
गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको र सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यस्ता कार्यक्रमको माध्यमबाट पर्यटकको आगमनमा व्यापक वृद्धि हुने उनले विश्वास व्यक्त गरे। (रासस)