काठमाडौं– तुलनात्मक रुपमा कमजोर मानिएको बंगलादेश क्रिकेट टिमले बिश्वकप दावेदार साउथ अफ्रिकाबिरुद्धको खेलमा शानदार शुरुवात गरेको छ। टस हारेर व्याटिङको निम्ता पाएको बंगलादेशले आक्रामक व्याटिङ गर्दै ३ सय ३० रनको बिशाल योगफल तयार पारेको छ।
बंगलादेशले निर्धारित ५० ओभर खेल्ने क्रममा ६ विकेटको क्षतीमा ३ सय ३० रन बनाएको हो। यो नै बंगलादेश क्रिकेट टिमको एकदिवसीय खेलमा सबैभन्दा ठुलो योगफल हो।
बिश्वकपको पाँचौ खेलमा बंगलादेशलाई बिशाल योगफलतर्फ डोर्याउने क्रममा मुसफिकर रहिमले ८० बल खेल्दै ८ चौकाको मदतमा ७८ रन, शकिब अल हसनले ८४ बलमा ८ चौका र १ छक्काको मदतमा ७५ रन, महमदुल्लाहले ३३ बलमा ४ चौकाको मदतमा ४६ रन, सौम्य सरकारले ३० बलमा ९ चौकाको मदतमा ४२ रन बनाए भने मोस्सदेक हुसैन २६, महमद मिथुन २१ र तमिम इकवालले १६ रन बनाए।
बलिङतर्फ साउथ अफ्रिकाका एएल फुलकायो, क्रिस मोरिस र इमरान ताहिरले समान २–२ विकेट लिए। साउथ अफ्रिकाका जवाफि व्याटिङका लागि मैदानमा छ।