काठमाडौं– हाई स्कोरिङ खेलमा बंगलादेशले साउथ अफ्रिकालाई स्तव्ध बनाएको छ। बिश्वकप क्रिकेटअन्तरगत आइतबार पाँचौ खेलमा बंगलादेशले साउथ अफ्रिकालाई २१ रनले पराजित गर्दै आफ्नो पहिलो खेलमा जित निकाल्यो।
दक्षीण अफ्रिका भने लगातार दोश्रो हार आत्मसात गर्न बाध्य भयो। यसअघि साउथ अफ्रिका इंगल्याण्डसँग उद्घाटन खेलमा १ सय ४ रनको फराकीलो अन्तरले पराजित भएको थियो।
आइतबारको खेलमा बंगलादेशले दिएको ३ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा साउथ अफ्रिकाले पुरा ५० ओभर खेल्दै ८ विकेटको क्षतीमा ३ सय ९ रनमात्र बनाउन सक्यो।
यसक्रममा साउथ अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले ५३ बलमा ५ चौका र १ छक्काको मदतमा ६२ रन, ओपनर ऐदन मार्करमले ५६ बलमा ४ चौकाको मदतमा ४५ रन, अर्का ओपनर क्विन्टन डि काकले ३२ बलमा ४ चौकामो मदतमा २३ रन, डेभिड मिलरले ४३ बलमा २ चौकाको मदत ३८ रन, भान डेर डस्सेनले ३८ बलमा २ चौका र १ छक्काको मदतमा ४१ रन, जेपि डुमिनीले ३१ बलमा २ चौकाको मदतमा ३४ रन बनाए भने क्रिस मोरिसले १० बलमा १ चौकाको मदतमा ८ रन बनाए।
बलिङतर्फ बंगलादेशका मुस्तफिजुर रहमानले ३, महमद सैफुदिनले २ विकेट लिए भने मेहदी हसन मिराज र शकिव अल हसनले १–१ विकेट हात पारे।
तुलनात्मक रुपमा कमजोर मानिएको बंगलादेश क्रिकेट टिमले बिश्वकप दावेदार साउथ अफ्रिकालाई पराजित गर्दै शानदार शुरुवात गर्ने क्रममा टस हारेर व्याटिङको निम्ता पाएको थियो।
यसक्रममा उसले आक्रामक व्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतीमा ३ सय ३० रनको बिशाल योगफल तयार पारेको थियो। यो बंगलादेश क्रिकेट टिमको एकदिवसीय क्रिकेटमा सबैभन्दा ठुलो योगफल पनि हो।
बंगलादेशलाई बिशाल योगफलतर्फ डोर्याउने क्रममा मुसफिकर रहिमले ८० बल खेल्दै ८ चौकाको मदतमा ७८ रन, शकिब अल हसनले ८४ बलमा ८ चौका र १ छक्काको मदतमा ७५ रन, महमदुल्लाहले ३३ बलमा ४ चौकाको मदतमा ४६ रन, सौम्य सरकारले ३० बलमा ९ चौकाको मदतमा ४२ रन बनाए भने मोस्सदेक हुसैन २६, महमद मिथुन २१ र तमिम इकवालले १६ रन बनाए।
बलिङतर्फ साउथ अफ्रिकाका एएल फुलक्वायो, क्रिस मोरिस र इमरान ताहिरले समान २–२ विकेट लिए।
अब अर्को खेलमा साउथ अफ्रिकाले बुधबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ भने बुधबार नै बंगलादेशले न्युजिल्याण्डको सामना गर्नेछ।