दाङ–रोल्पामा एक शिक्षकाको कुटाइबाट १४ विद्यार्थी घाइते भएका छन्। ती मध्ये पाँच जनको हात भाँचिएको छ भने अन्य ९ जना समान्य घाइते भएका छन्।
रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन्।
घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन्। घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ ।
उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको बताए। शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन्। यो समाचार राजधानी दैनिकले छापेको छ।