रारा (मुगु) – नयाँ शैक्षिक सत्र शुरु भएको २ महिना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन।
किताब विक्रीवितरणको जिम्मा लिएका स्टेसनरी तथा वितरकहरूले आवश्यक किताब समयमै ढुवानी गरेर विक्रीवितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र शुरु भएको २ महिना हुन लाग्दा पनि किताब पाउन नसकेका हुन्।
‘‘विद्यालय खुलेको २ महिना भइसक्यो, किताब अझै पाएका छैनौँ’,’ भवानी मावि पुरुमुरु कक्षा १० मा अध्ययनरत विद्यार्थी पूर्ण शाहीले भने, ‘‘विद्यालयमा रहेका पुराना केही किताबबाट शिक्षकले पढाउने गरेका छन्। किताब लिन सदरमुकाम गमगढीमा दुईपटक पुग्दासमेत पाएनौँ। किताब नहुँदा घरमा पढ्न पाइएको छैन।’’
कक्षा ६ देखि १० सम्मको किताब जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश सुर्खेत कार्यालय र कक्षा १ देखि ५ सम्मका किताब काठमाडाैँका निजी प्रकाशनबाट ल्याई छायाँनाथ रारा नगरपालिका, मुगु मकार्मारोङ्ग र सोरु गाउँपालिका सबै विद्यालयलाई विक्रीवितरण गर्ने जिम्मा सदरमुकाम गमगढीमा रहेका केबी, जयलक्ष्मी, त्रिशक्ति र अविनाश स्टेसनरी तथा सप्लायर्सले जिम्मा लिएका छन्।
पहिलोपटक ल्याएका किताब छायाँनाथ रारा नगरपालिका र मुगु मकार्मारोङ्ग गाउँपालिकाका सबै विद्यालयलाई विक्रीवितरण गरेका थिए। सोरु गाउँपालिकाका ४१ विद्यालयका लागि ल्याएका किताब सुर्खेतको न्यू मनकामना ढुवानी सेवामा रहेका छन्। ढुवानी गर्न ढिलो गरेकाले सोरु गाउँपालिकाका ४१ विद्यालयले किताब नपाएको केबी स्टेसनरीका सञ्चालक केशव चौलागाईंले बताए।
जिल्लाका चार स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा शैक्षिकसत्र शुरु हुँदै किताब पुगेका थिए। छायाँनाथ रारा नगरपालिका र मुगु मकार्मारोङ्ग गाउँपालिकाका विद्यालयमा शैक्षिक शुरु भएको केही समयपछि किताब पुगेको छ।
सोरु गाउँपालिकामा शैक्षिकसत्र शुरु भएको २ महिना हुन लाग्दासमेत किताब नपुग्दा ४१ विद्यालयका कक्षा १ देखि ५ सम्मका २ हजार ८ सय ६४, कक्षा ६ देखि १० सम्मका ६ सय ५ जना विद्यार्थी किताब पढ्नबाट वञ्चित भएकाे विजय माविका शिक्षक वीरबहादुर बमले बताए।
सोरु गाउँपालिकामा पुस्तक नपुग्दा यहाँका विद्यालयमा २ महिनायता विद्यार्थी दिनहुँ विद्यालय जाने र दिनभरि खेलेर बेलुका घर फर्कने गरेका छन्। (रासस)