काठमाडौँ– अस्ट्रेलियन इन्स्टिच्यूट अफ बिजनेस एण्ड टेक्नोलोजी इन्टरनेसनल (एआईबीटी–आई) को खारेजी प्रक्रिया सुल्झिएको छ। अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (आस्क्वा) ले १५ मे २०१९ मा एआईबीटी इन्टरनेशनलको दर्ता खारेज प्रक्रिया अघि बढाएको थियो।
तर, एआईबीटी इन्टरनेशनलले आस्क्वाको निर्णयविरुद्ध ‘फेडेरल कोर्ट अफ अस्ट्रेलिया’ मा मुद्दा दर्ता गराएको थियो। उक्त मुद्दाको फैसला जून ५ तारिखभन्दा अघि नै हुने तयारीमा थियो। तर, जून ५ तारिखमै आस्क्वाले आफ्नो निर्णय सल्टाएको छ।
एआईबीटी इन्टरनेशनलले पनि अदालतमा दर्ता गराएको मुद्दा फिर्ता गरेको छ। एआईबीटी इन्टरनेशनलले आस्क्वाको निर्णयलाई स्वागत गरेको छ। अब भने एआईबीटी इन्टरनेशनलका विद्यार्थीहरूले नर्सिङ अध्ययनको मान्यता पाउने भएका छन्।
एआईबीटी इन्टरनेशनलले एक विज्ञप्ति जारी गर्दै आस्क्वा आफैँले ‘दर्ता खारेज’ उल्ट्याएको जनाएको छ। आस्क्वाले एआईबीटी इन्टरनेशनलले धेरै नियमहरू उल्लंघन गरेको भन्दै खारेजको प्रक्रिया अपनाएको थियो।
एआईबीटीको रूपमा संस्था सञ्चालन भए पनि एआईबीटी इन्टरनेशनल ब्रिगटन प्यासिफिक प्रालिका नाममा दर्ता भएर सञ्चालनमा थियो। आस्क्वाले एआईबीटी इन्टरनेशनलले आफ्नो मार्केटिङ प्रयोगबारे सही र तथ्यगत जानकारी नदिएका कारण दर्ता खारेजको प्रक्रिया अघि बढाएको थियो। आस्क्वाले एआईबीटी इन्टरनेशनललाई उसको मार्केटिङ, एजुकेसन एजेन्टबारे स्पष्टिकरण सोधेको थियो। नेपालका पनि सयभन्दा बढी विद्यार्थी एआईबीटी इन्टरनेशनलमा अध्ययन छन्।
२०७५ सालमा एआईबीटीलाई पनि आस्क्वाले खारेज गरिदिएको थियो। उसको दर्ता खारेज गरे पनि उसले अदालतमा मुद्दा दायर गरेको छ। त्यसको फैसला भएको छैन। एआईबीटी र एआईबीटी इन्टरनेसनल एउटै सञ्चालकका दुई फरक–फरक शैक्षिक संस्था हुन्। एआईबीटी इन्टरनेशनललाई पनि आस्क्वाले दर्ता खारेज गरिदिएपछि नेपाली विद्यार्थी अत्तालिएका थिए।
अन्ततः एआईबीटी इन्टरनेशनलको खारेज प्रकरण सुल्झिएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक प्रमाणीकरण शाखाले अब २०७५ मा खारेजीमा परेको एआईबीटीमा अध्ययन गर्न जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने घोषणा नै गरेको छ। आस्क्वाले अस्ट्रेलियाका सञ्चालित शैक्षिक संस्था नियमन गर्छ। अस्ट्रेलियन नर्सिङ काउन्सिलबाट सम्बन्धन प्राप्त हुन नसकेपछि आस्क्वाले एआईबीटी बन्द गरिदिएको थियो।