काठमाडौँ – नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ। पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ।
नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। सोल्टी क्राउन प्लाजामा यही जेठ २६ गतेसम्म चल्ने मार्टमा ४३ देशका करिब ७ सय ले सहभागीता जनाउने मार्ट आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताएका छन्।
सन् २०१७ देखि वार्षिक कार्यक्रमका रुपमा आयोजना हुँदै आएको मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सशक्त ब्राण्डका रुपमा विकसित हुँदै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गर्न लागेको हो।
मार्टअन्तर्गत यस पटक व्यवसायीसँग व्यवसायी (बीटुबी) मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र ६ मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाउने पाटा नेपालले जनाएको छ।
नेपालको पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गर्ने उपयुक्त थलोका रुपमा ट्राभल मार्ट स्थापित भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए। मार्टमा सहभागिता जनाउने सबै विदेशी पाहुना बुधबारसम्म नेपाल आइसकेका पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिएका छन्।
मार्टमा प्रमुख वक्ताका रुपमा विश्वविख्यात हिमाल आरोही डक स्कट रहनेछन्। यस्तै, अन्य दुई दर्जन राष्ट्रिय वक्ता तथा पर्यटनसम्बद्ध सरोकारवालाबीच पर्यटनका विविध पक्षबारे चर्चा हुने जनाइएको छ। (रासस)