काठमाडौँ – बेल्जियममा रहेका नेपालीहरूले आफूहरू नेपालमै लगानी गर्न इच्छुक रहेको बताएका छन्। उनीहरूले त्यसका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा युरोप पुगेको व्यापारिक भ्रमण टोलीले बेल्जियममा रहेका नेपालीहरू ‘भिजिट २०२० र नेपालमा लगानी’ सम्बन्धमा छलफलमा गरेको थियो।
सो क्रममा बेल्जियममा रहेका नेपालीहरूले नेपालमा लगानी गर्नु आफ्नो पनि दायित्व रहेको बताए। उद्योग वाणिज्य सङ्घ वीरगंजका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले सन् २०२० लाई पर्यटन वर्षका रूपमा घोषणा गरेकोले बेल्जियमका नागरिक तथा बेल्जियममा बसोबास गरिरहेका नेपालीहरुलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्दै भ्रमण वर्ष सफल पार्न आग्रह गरे।
उनीहरूले प्रदेश नं. २ सरकारले नयाँ उद्योग स्थापनामा प्रदान गरिरहेको सेवा सुविधाले त्यस प्रदेशमा लगानी गर्न अझ उत्साहित तुल्याएको बताए। छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधान लगायत १५ जिल्ला/नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको उपस्थिति रहेको थियो।