काठमाडौँ - कलेजका थुप्रै विद्यार्थी खाजा खानका लागि क्याफेमा छिरे। म:म: चाउमिनलगायतका परिकार मगाए, खाए र पैसा तिरेर निस्किए। कलेज पोशाकमै रहेका क्याफे सञ्चालक रोहन चम्लागाईंले टेबुलको फोहोर सफा गरे। प्रयोग गरेर फ्याँकेको न्याप्किन ‘डस्टबिन’मा राखे। प्लेटहरू किचनमा पुर्याए। आउने ग्राहकहरूलाई उनीहरूको अर्डरअनुसारको खानेकुरा ल्याइदिए। गएको मंगलबार दिउँसो पुतलीसडकको ‘द बिट्स फाष्ट फुड क्याफे’मा छिर्दा रोहन र उनका साथी रोहित महर्जन कलेज ड्रेसमै भर्खर क्याफेमा आइपुगेका थिए।
[caption id="attachment_54896" align="alignnone" width="1024"]
राेहन चम्लागाईं[/caption]
उनीहरू पनि भर्खरै पढेर होटल आएका हुन्। दुवै जना होटल म्यानेजमेन्टका विद्यार्थी। गोल्डेनगेट इन्टरनेशनल कलेजमा उनीहरू ब्याचलर चौथो सेमेष्टरमा अध्ययन गर्छन्। पढाइसँगै उनीहरू उद्यमी बनिसकेका छन्। अर्का एक जना साथी भने ठमेलको अर्को नयाँ क्याफेमा गए। उनीहरू पुतलीसडक आए।
काममा उनीहरूलाई कुनै हीनताबोध छैन। ‘आफू मालिक हुँ’ भनेर बस्ने बानी पनि छैन। त्यसो त उनीहरू भर्खर ब्याचलर सक्ने तयारीमा छन्। खुरुखुरु पढेर बस्ने बेलामा उनहरूले त क्याफे नै सञ्चालन गरिसकेका छन्। रोहन एक्लैले होइन, उनीसँगै थप दुईजना साथी पनि छन– रोहित महर्जन र संगीत न्यौपाने। उनका पार्टनर ‘क्लासमेट’ हुन्। टिम लिडर हुन् रोहित महर्जन। उनैले हो, क्याफे सञ्चालनमा अगुवाइ गरेको।
[caption id="attachment_54897" align="alignnone" width="1024"]
राेहित महर्जन[/caption]
रोहित महर्जन भन्छन, ‘म आफैँले होटेलमा दुई वर्ष काम गरेँ। त्यसपछि एउटा क्याफे लिजमा लिएर साथीसँग मिलेर चलायौँ। त्यो क्याफे ठमेलमा चलाएको एक वर्ष भयो। हामी तेस्रो सेमेष्टरमा हुँदा साथीहरूसँग अर्को क्याफे सञ्चालन गर्ने छलफल भयो। पहिला त त्यही लिजमा लिएको क्याफे अगाडि बढाऔँ बन्ने सोच थियो। त्यसमा अर्को मेरो साथीको सहमति भएन। त्यसपछि पुतलीसडकमा नयाँ क्याफे सञ्चालन गर्याैँ । तीन जनाले पाँच–पाँच लाख रुपैयाँ लगानी गर्याैँ। मैले बुबा–आमासँग आधा पैसा मागेँ। आधाचाहिँ बैंकबाट ‘लोन’ लिइदिनुभएको हो। यहाँ सञ्चालन गरेको शुरूको दुई महिना आम्दानी खासै भएन। गाह्रो त भयो। त्यसपछि मान्छेहरूसँग चिनजान हुन थाल्यो। रेगुलर कस्टमर बढ्न थाले।’
[caption id="attachment_54899" align="alignnone" width="1024"]
क्याफेमा आएका ग्राहक[/caption]
त्यसो त रोहित काठमाडौँका रैथाने हुन्। उनको बसाइ काठमाडौँको खिचापोखरीमा छ। बाबुआमा भने सामान्य जागिर गर्छन्। साथीहरूसँग मत मिलेपछि उनीहरूले पुतलीसडकमा नयाँ क्याफे खोले।
ठमेलमा लिजमा लिएको क्याफेका उनी अझै सञ्चालक छन्। भर्खरै ठमेलमा अर्को पनि नयाँ क्याफे सञ्चालनमा ल्याएका छन्। थप एक जना साथी पनि क्याफे सञ्चालनमा जोडिएका छन्। अब उनी तीन ठाउँका मालिक भएका छन्।
‘हामीले केही गर्ने भनेर सोचिरहेका त थियौँ। टिम लिडर पाएका थिएनौँ’, रोहन चाैँलागाईं भन्छन, ‘रोहित महर्जनलाई टिम लिडर बनाएर क्याफे सञ्चालन गर्ने सोच बनायौँ।’ काठमाडौँमा व्यवसाय सञ्चालन गर्ने उनको सपनामा बाबुआमाको ठूलो साथ छ।साथीसँग क्याफे चलाउने कुराकानी भइसकेपछि ‘इन्भेस्ट’ गर्न मम्मीसँग अनुराेध गरेँ’, रोहन भन्छन्, ‘उहाँले बुबासँग कुरा गर्नुभयो र पैसा लगानी गर्न मान्नुभयो।’
[caption id="attachment_54902" align="alignnone" width="1024"]
पुतलीसडकमा रहेकाे क्याफे[/caption]
रोहनको बुबा अहिले दुवईमा छन्। रोहन ५–६ वर्ष हुँदा विदेश गएका बुबा आउ–जाउ गरिरहे पनि अझै विदेशमै काम गरिरहेका छन। दुवईमा उनका बुबा काम गर्न गएको १०–१२ वर्ष भयो।
रोहन सम्झन्छन्, ‘मम्मीले राम्ररी बुझेर मात्रै काममा हात हाल्नु भन्नुभएको थियो। मेरो विदेश जाने सोच नै आएन। कत्ति जनाका परिवारले ‘लगानी गर्छु’ भन्दा पैसा दिँदैनन्। मलाई चाहिँ परिवारले विश्वास गर्छन्।’
पुतलीसडकमा रहेकाे उनको होटेलमा अहिले मासिक ३–४ लाखको कारोबार हुन्छ। ६० देखि ८० हजार मासिक खुद नाफा हुने उनी बताउँछन्। ‘पढेर केही कुरा सिकिन्छ। गरेर धेरै कुरा सिकिन्छ। पढाइले बाटो देखाउँछ’, रोहन भन्छन, ‘पहिल्यैदेखि नेपालमै बसेर केही गर्ने सोच थियो। अझै त्यही छ। अरुको काम गर्न खासै मन लाग्दैन।’
उनको एमबीएस गर्ने सोच पनि छ। उनी आफू अहिले नै आत्मनिर्भर भइसकेको बताउँछन्। ‘अहिले त आफैँले कमाएको पैसाबाट खर्च गरिरहेको छु’, रोहन प्रफुल्लित भएर भन्छन्। त्यसो त उनको उमेर पनि धेरै भएको छैन। २०–२२ वर्षका मात्रै भएका छन्। उनका ‘क्लासमेट’ पनि उस्तै उमेरका छन्।
उनी शुरूमा ब्याचलर पढ्न काठमाडौँ आएका थिए। त्यतिबेला उनलाई काठमाडौँको हावापानीदेखि दिक्क पनि लागेको थियो। उनको घर झापा। काठमाडौँको फोहोर र धूवाँका कारण झापा नै फर्काैं कि जस्तो पनि लागेको उनी बताउँछन्।
शुरूमा उनी होस्टलमा बसे। होस्टेलमै संगीत न्यौपाने उनको मिल्ने साथी बने। उनीहरू होस्टलबाट निस्के र कोठा खोजेर बसे। अहिले संगीत र उनी पढाइ र व्यापारमा सँगै छन्। संगीत न्यौपानेका बुबा पनि वैदेशिक रोजगारीमा छन्। उनका बुबा उनी २ कक्षामा पढ्दै विदेश गएका थिए। पहिला मलेशिया गएका उनका बुबा अहिले कतारमा छन्। ‘कतार बसेको ५–६ वर्ष भयो’, उनी भन्छन्।
विदेश गएका साथीहरूको दुःख सुन्दै उनी विदेशबारे अघाएका छन्। ‘उता दुःख छ। थाहा छँदै छ नि !’, संगीत भन्छन्, ‘नेपालमै पैसा कमाउन सकिन्छ। थाेरै हुन्छ कमाइ, हुनचाहिँ हुन्छ।’ उनीहरूले ६–७ जनालाई रोजगारी पनि दिएका छन्। बाबुले विदेशबाट कमाएको पैसाकाे सदुपयोग पनि गरेका छन्। पढाइलाई पनि निरन्तरता दिएका छन्। व्यापार पनि विस्तार गरेका छन्।
अहिले नेपालमा रोजगार नपाएको युवा पुस्तामा बढ्दो गुनासो छ। धेरै युवा रोजगारीको लागि विदेशको गन्तव्य ताकिरहेका छन्। सरकारले पनि विभिन्न देशसँग श्रम सम्झौता गरेर युवालाई वैदेशिक रोजगारीमा आकर्षण गरिरहेको छ। तर, नेपालमै काम गर्न चाहनेहरू पनि छन्। त्यसको उदाहरण यिनै तीन युवा बनेका छन्।
गएको मंगलबार संयोगले तीनजना पुतलीसडकको क्याफेमा आइपुगेका थिए। उनीहरू कहिले ठमेल त कहिले पुतलीसडक कुदिरहनुपर्छ। एकै ठाउँमा भेट्न कुनै कार्यक्रम नै हुनुपर्छ। अलिक राम्रो आर्थिक अवस्था भएकाहरू अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया जान्छन्। कमजोर आर्थिक अवस्था भएका युवा मलेशिया र कतारको सपना देख्छन्। अहिले त १२ कक्षा पास गरेपछि धेरै वैदेशिक रोजगारीमा होमिएको देखिन्छ। उनीहरूलाई यी तीन युवाको काम प्रेरणाको स्रोत बन्न सक्छ।