काठमाडौँ – नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ। हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवर्द्धनको काम एक साथ अगाडि बढाउन अध्ययनको तयारी गरेको हो।
पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ति उत्पादनदेखि अन्तर्राष्ट्रिय विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने माउण्टेन हब निर्माण गर्दा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान हुने विश्वासका साथ उपयुक्त स्थानको छनोट गर्न लागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्षप्रा.डा. पुष्पराज कँडेलले बताए।
सरकारले चाहेजस्तो पर्याप्तपूर्वाधार निर्माण गर्न उपयुक्त स्थान काठमाडौँबाट सबैभन्दा नजिकको दुरीमा रहेको रुविभ्याली स्थित गणेश हिमाल श्रृङ्खलाअन्तर्गत पाल्दोर हिमालको आधार शिविर र पाङसाङ पासमा रहेको धादिङ क्षेत्र नं. २ का सांसद खेमप्रसाद लोहनीले बताए। पाल्दोर आधार शिविर र पाङसाङ पासमा हालै नेपाल पर्वतारोहण संघको संयोजनमा राष्ट्रिय योजना आयोगको उच्च पदाधिकारीद्वारा स्थलगत अवलोकन गरिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले रुविभ्यालीको पाङसाङ पास र पाल्दोर आधार शिविर पुगेर स्थलगत निरिक्षण गरेको हो। अध्ययन भ्रमणमा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयाल, धादिङ क्षेत्र नं. २ का सांसद खेम प्रसाद लोहनी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङलगायत थिए।
पर्यटनमार्फत आर्थिक समृद्धि र विश्व समुदायको ध्यान खिच्न सक्ने उपयुक्त परियोजनाको खोजी गर्दा राजधानीबाट सबैभन्दा नजिक र छिटो सम्पन्न गर्न सकिने सो स्थान छनोटमा पर्न सक्ने देखिएको छ। भ्रमणबाट फर्किएपछि उपाध्यक्ष कँडेलले पर्यटनमार्फत समृद्धि हासिल गर्न यस्ता परियोजनाको खोज अनुसन्धान हुन आवश्यक रहेको बताए।
उपाध्यक्ष कँडेलले भने, ‘प्रारम्भिक चरणको अध्ययनमा पाल्दोर आधार शिविर राजधानीबाट नजिक रहेको र उपयुक्त स्थानमा रहेकोले अगाडी बढाउन उपयुक्त देखिएको छ।’ राष्ट्रिय आवश्यकताको आधारमा यस्ता परियोजना छनोट हुने भएकाले यसै वर्ष विस्तृत अध्ययन गरिने उनले बताए।
पाङसाङबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर लगायतका श्रृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ। काठमाडौँबाट धादिङबेसी हुँदै दुई दिनमा पुग्न सकिने सो स्थानमा रसुवाको स्याफ्रुबेसीहुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ। हेलिकप्टर मार्फत १८ मिनेटमै पुगिने सो स्थान स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्न सक्छ।
स्थलगत निरिक्षण गरेर फर्केका राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयालले राष्ट्रिय महत्व बोकेको राम्रा परियोजनाको खोजी गर्ने क्रममा पाल्दोर पिकपनि एउटा संभावनाले युक्त देखिएको बताए। नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएशन नेपालले यसअघि पाल्दोर पिकमा माउण्टेन हट निर्माण गर्न विभिन्न दातृ निकायसंग सहकार्य गरेर प्रारम्भिक अध्ययन गरेका थिए। सोही अध्ययनका आधारमा सांसद लोहनी र नेपाल पर्वतारोहण संघको मागका आधारमा सरकाले बजेट समेत विनियोजन गरेको छ।
सरकारले माउण्टेन हब बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरेरै अध्ययन गर्न थालेपछि पर्वतीय पर्यटन व्यवसायीहरु खुशी भएका छन्। नेपाल पर्वतारोहण संघका पूर्व महासचिव ठाकुरराज पाण्डे पाल्दोरमा माउण्टेन हब निर्माण हुँदा सिंगो मुलुकले फाइदा पाउने हुँदा पर्यटन क्षेत्र हर्षित भएको बताउँछन्। नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ पर्वतीय पर्यटनलाई राष्ट्रले अपनत्वलिएर परियोजना अगाडी बढाएकोमा खुशी व्यक्त गर्दै सहकार्यका निम्ति पर्वतारोहण संघ संधै तत्पर रहने प्रतिवद्धता जनाए।
सरकारले हिमाली क्षेत्रलाई विशेष महत्व दिँदै विभिन्न आयोजनालाई बजेटमार्फत सम्बोधन गरेको छ। नेपाल सरकारको यहीँ आर्थिक वर्षमा हिमाली क्षेत्रमा पूर्व–पश्चिम हरित पदमार्ग, हिमाली क्षेत्रमा पुग्न केवलकार र विभिन्न सर्किटहरुमा पदमार्ग निर्माण गर्न बजेट व्यवस्था गरेको छ। रुविभ्यालीको लागि पनि विस्तृत परियोजना प्रस्ताव तयार गर्न र पाल्दोर आधार शिविरसम्म पुग्न पदमार्ग निर्माणका लागि एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।