काठमाडौँ, १ माघ – नेपाली चलचित्र ‘समर लभ’ हेर्नेमध्येका एक जोडीले थाइल्यान्ड घुम्न पाउने भएकाे छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचारकाे यस्ताे शैली सार्वजनिक गरेकाे हाे।
निर्देशक मुस्कान ढकालको चलचित्र ‘समर लभ’ले आफ्नो चलचित्र प्रचारप्रसार गर्न दर्शकमध्ये एक जोडीलाई थाइल्यान्ड घुम्ने अवसर दिएको जानकारी दिए।
निर्देशक ढकालले चलचित्र हेर्नका लागि काटिने टिकटको नम्बरमार्फत लक्की विजेता घोषणा गरी एक जोडीलाई थाइल्यान्ड टुरमा पठाउने बताए। विजेता हुनेले चलचित्रको गीत, पोष्टर र ट्रेलर फेसबूकमार्फत अनिवार्य शेयर गर्नुपर्ने साथै फिल्म हेरेको टिकट साथमा हुनुपर्नेछ बताएका छन्।
चलचित्र प्रचारकै लागि निर्माण टिमले ‘मायाको सेल्फी उत्सव’को प्रचार योजना पनि अगाडि सारेको छ। आफ्नो प्रेमी वा प्रेमिकासँग खिचेको सेल्फी फिल्मको फेसबूक पेजमा पठाए विभिन्न उपहार पनि प्रदान गरिने चलचित्रका कार्यकारी निर्माता विनोद अधिकारीले जानकारी दिए।
माघ २७ बाट प्रदर्शनमा आउने चलचित्रमा आशिष पिया ‘अतित’ र रेवती क्षेत्री ‘साया’को भूमिकामा देखिनेछन्। उक्त चलचित्रमा नायिका नम्रता सापकोटा, शिशिर भण्डारी, सुरज सिंह ठकुरी, मानसविक्रम थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ।
चलचित्र ‘समर लभ’मा कथाकार सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवाद सामीप्य र सुबिनले लेखेका हुन्। नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन्।