काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को लफडाले प्रकाशनमा केही दिन ढिलाइ हुन गएको बोर्डको भनाई छ।
प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएका कारण ढिला भएको बोर्डको तर्क छ। बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माका अनुसार, देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ। हाल नम्बर इन्ट्रीको काम धमाधम भइरहेकाले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने योजना रहेको बताए।
यस वर्ष गत चैत १० गतेबाट शुरु परीक्षामा सहभागी नियमिततर्फका चार लाख ७५ हजार परीक्षार्थी परीक्षाफलको प्रतीक्षामा छन्।