काठमाडौँ - वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करिब १ लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन्। नेपालमा पाइने सम्पूर्ण वनस्पति प्रजातिको विवरण कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गर्दै अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरिनुका साथै भविष्यका लागि संरक्षण गरी राखिएका छन्। गोदावरीमा १ लाख ४५ हजारभन्दा बढी फूल फुल्ने वनस्पतिका हर्वेरियम नमूना वैज्ञानिक पहिचानका साथ संरक्षण गरी राखिएको वनस्पति विभागका अनुसन्धान अधिकृत राकेश त्रिपाठीले जानकारी दिए।
नेपालमा रहेका एक सय वर्ष पुरानो वनस्पतिलाई गोदावरी हर्वेरियममा संरक्षण गरिएको छ, त्रिपाठीले भने, नेपालका सय वर्ष पुराना वनस्पतिको नमूना बेलायत, जापान र भारतमा समेत अध्ययनका लागि लगिएका छन्।
यी नमूनालाई सदैव संरक्षित गर्न ६/६ महिनाको फरकमा फन्गी साइड नामक ढुसीनामक औषधिले स्प्रे गर्ने गरिएको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका अनुसन्धान अधिकृत तीलकुमारी थापाले जानकारी दिए। उक्त नमूना राखिएको कोठामा स्प्रे गरेपछि लगभग एक महीना त्यहाँ छिर्न मिल्दैन।
यस हर्वेरियममा महिनाको एक सयभन्दा बढी विदेशी नागरिक अध्ययन, अनुसन्धान, तथ्याङ्क र सूचना सङ्कलन गर्न आउने गरेका छन्। विज्ञान, वायोटेक र फार्मेसी अध्ययन गर्ने सयौँ बढी स्वदेशी नागरिक गोदावरी हर्वेरियममा आउने हुँदा तिनीहरूलाई यस हर्वेरियमले विभिन्न जानकारी दिने गरेको छ। (रासस)