काठमाडौँ - ‘एनटीसी मिस नेवाः ११३९’ १४औँ संस्करणको उपाधि नीतु डंगोलले जितेकी छिन्। नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगितामा १६ जना प्रतिस्पर्धिहरूलाई पछि पार्दै नीतुले उपाधि जितेकी हुन्। नीतुलाई मिस नेवाः ११३८ की रीजु मानन्धरले विजेतालाई मुकुट पहिराइदिएकी थिइन् भने साथमा २५ हजार नगद रुपैयासहित विभिन्न उपहारहरू पनि हात पारेकी छिन्।
नेप्लिज फेसन होमले आयोजना गरेको यो प्रतियोगितामा सञ्जिता महर्जनले फस्ट रनर्स अपको उपाधि जित्न सफल भइन्। उनले नगद राशि १२ हजार रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरिन्। साथै, सञ्जिताले मिस फ्रेण्डशिपको उपाधि पनि जितिन्। स्केना कोजुले सेकेण्ड रनर्स अपमा चित्त बुझाइन् भने उनले पनि नगद राशि १० हजार रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरिन्।
लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम ग्राण्ड फिनालेको निर्णायकमा बैँकर भाइराजा तुलाधर, गायक प्रवेशमान शाक्य, नेपाल क्यूकोसिन सिसन कँराते एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठ, बुटिक एसोसिएसनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, सञ्चारकर्मी विजयरत्न तुलाधर, मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे रहेका थिए।
प्रतियोगितामा नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार कला, संस्कृति, गीत, संगीत, नृत्य, रीतिरिवाज, रहनसहन, खानपिन आदिका बारेमा जानकारी गराउन र तिनकाे संरक्षणका लागि प्रतियोगिता आयोजना गरेको बताइन्।