काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको आरोप लगाएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए।
प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको उनले बताए। ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने, ‘यसले जनविरोधी गतिविधि गरिरहेको छ।’ शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको उनको भनाई थियो।
कृतिकार हरिशरण उपाध्यायले देशप्रतिको चिन्ता एवं देशभक्ति र हिन्दु धर्मको प्रभुत्वको कारण पुस्तक प्रकाशन गरेको बताए। बिमोचित पुस्तकको समिक्षा विश्लेषक उद्धव सिग्देल र आलोक लम्सालले गरेका थिए। दुवैले पुस्तकले विगत र वर्तमानको गहिरो विश्लेषण गर्दै भविष्यको मार्गदर्शन गरेको बताए।
त्रिवेणी साहित्य परिषद् नवलपुरले प्रकाशन गरेको पुस्तक १७५ पृष्ठको छ। पुस्तकका लेखक प्राध्यापक हरिशरण उपाध्याय स्याङ्जामा जन्मिएर भारतका विभिन्न विश्वविद्यालयमा प्राध्यापनमा सक्रिय रहे। उनका संस्कृति र नेपाली भाषामा नौं वटा पुस्तक प्रकाशित भइसकेका छन्।