काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यही असारमा शैक्षिक मेला आयोजना गर्ने भएको छ। संस्थाले १३ औं संस्करणको शैक्षिक मेला असार २६ देखि २९ सम्म भृकुटीमण्डपमा गर्न लागेको हो।
मेलामा विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सही जानकारी र परामर्श दिने बताइएकाे छ। मेलामा सहभागिताका लागि विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरूलाई समेत आग्रह गरिएको इक्यानले जनाएको छ।
मेलामा श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेशिया, जर्मन, डेनमार्क, साइप्रसलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता हुनेछ। नेपाली विद्यार्थीहरूलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरू जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नु मेलाको प्रमुख उद्देश्य रहेको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए।
मेला अवधिभर रक्तदान कार्यक्रम र प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको समेत कार्यक्रम राखिएकाे इक्यानले जनाएको छ।