सुर्खेत - मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतको नवौँ वार्षिकोत्सव कार्यक्रमस्थलमा झपड भएको छ। विश्वविद्यालयले वार्षिकोत्सवमा काठमाडौँका निजी कलेजहरूद्वारा प्रचारप्रसारका लागि सौजन्य गरिएका टिसर्ट वितरण गरेपछि (आज) मंगलबार वीरेन्द्रनगरमा विद्यार्थी र प्रहरीबीच झडप भएको हो।
झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट दुई जना विद्यार्थीसहित एक जना प्रहरी सख्त घाइते भएका छन्। वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेका आन्दोलनरत विद्यार्थीको ढुङ्गा प्रहारबाट प्रहरीको मुखमा र नाकमा चोट पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वार्षिकोत्सव कार्यक्रम बिथोल्न खोज्ने ११ जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षत्रीले जानकारी दिए।
विश्वविद्यालयले मानविकी र शिक्षाशास्त्र संकाय स्नातकोत्तरको परीक्षा मंगलबार पनि सञ्चालन गरिदिएका कारण विद्यार्थीले वार्षिकोत्सवको विरोध गर्नुको अर्को कारण रहेको सम्बद्ध पक्षले बताएका छन्। सरकारी विश्वविद्यालयले आफ्नो वार्षिकोत्सवमा निजी कलेजको टिसर्ट वितरण गरेपछि विद्यार्थी कार्यक्रम नै बहिष्कार गरेर आन्दोलित भएका हुन्।
विश्वविद्यालयले कार्यक्रममा आउने पाहुनासहित मिनी मैराथन दौडमा भाग लिने सबैका लागि काठमाडौँका निजी विद्यालयद्वारा प्रायोजित टिसर्ट वितरण गरेपछि विद्यार्थी आन्दोलित भएका हुन्। विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रम केही समयका लागि प्रभावित भएको थियो। विश्वविद्यालयले वार्षिकोत्सवमा सहभागी हुन आएका भीआईपी तथा अन्य पाहुनाहरूलाई प्रहरीको सुरक्षा घेराभित्र राखी कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट कार्यक्रम उद्घाटन गराउन सफल भएको छ। विद्यार्थीबिना नै विश्वविद्यालय प्रशासनले आफ्नो नवौँ वार्षिकोत्सव मनाइरहँदा सर्वसाधारणले भने नाराबाजी गरेका छन।
यता विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले वार्षिकोत्सव कार्यक्रमका दिन विश्वविद्यालयले स्नातकोत्तर मानविकी र शिक्षाशास्त्र संकायको परीक्षा आयोजना गर्नु भूल भएको बताए। उनले विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रमका लागि काठमाडौँका निजी कलेजद्वारा प्रायोजित टिसर्टलाई अन्यथा लिनु दुर्भाग्य भएको बताए। विश्वव्यापी रूपमै स्कूल, कलेज र विश्वविद्यालयलाई प्रायोजित गर्ने चलन रहेकाले शुद्ध मनोभावबाट गरिएको सहयोगलाई अन्यथा लिनु गलत भएको उनको भनाइ थियो।