काठमाडौँ – नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो सिजन शुरू हुने भएको छ। दोस्रो सिजनको तयारीमा रहेको आयोजकले नयाँ दुई कोचको नाम सार्वजनिक गरेको छ।
आयोजकका अनुसार दोस्रो सिजनका लागि पुराना दुई कोचले निरन्तरता पाउने भएको छ भने दुई नयाँ कोच थप गरिएको छ। दोस्रो सिजनमा आयोजकले नयाँ दुई कोचमा मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतलाई भित्र्याएको छ। अमेरिकामा बस्दै आएक गायक लामा यही शोको छायाँकनका लागि नेपाल आएका छन्।
पहिलो सिजनमा कोचहरुमा वरिष्ठ गायक दीप श्रेष्ठ, गायक प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा थिए। दोस्रो सिजनमा दीप श्रेष्ठ र प्रमोद खरेलले मात्र निरन्तरता पाउने भएका छन्।
हिमालयन टेलिभिजनबाट साउनको पहिलो सातामा प्रसारण गरिने शोको दोस्रो संस्करणलाई लक्ष्मण पौडेलले नै निर्देशन गर्नेछन्। यस्तै, शोमा होस्ट सुशील नेपाल नै रहने आयोजकले जानकारी गराएको छ।