काठमाडौँ - नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि राष्ट्रिय नाटक महोत्सव शुरू भएको छ। काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा शुरू भएको महोत्सव आइतबारसम्म चल्नेछ।
महोत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’ र कवि तथा संस्कृतविद तुलसी दिवसले संयुक्त रुपमा उद्घाटन गरेका थिए। महोत्सवको पहिलो दिन मुगुको ‘कर्णाली थिएटर कलाकुञ्ज’ समूहको हिरा बिजुली निर्देशित फिल्म ‘पम्पा फूल’ मञ्चन गरिएको थियो। दोस्रो दिन अर्थात् आज इटहरीको ‘कलालय’ ले तयार पारेको प्रज्वल पराजुली निर्देशित ‘ईश्वरलाई चिठ्ठी’ नाटक मञ्चन भएको छ। तेस्रो दिन ललितपुरस्थित ‘मगर अध्ययन केन्द्र’ ले तयार पारेको गीतिनाटक ‘जीवैमामा’ देखाइनेछ। जसलाई भीम मास्की रानाले निर्देशन गरेका हुन्।
त्यस्तै, चौथो दिन पाँचथर स्थित ‘क्षितिज नाट्य समूह’ का जीवन बराल निर्देशित फिल्म ‘घर भित्रको अर्को घर’ देखाइनेछ। पाँचौं दिन हेटौंडास्थित ‘तरंग साँस्कृतिक परिषद’ को उज्वल शर्मा भण्डारीद्धारा निर्देशित फिल्म ‘अमरसिंहको खोजीमा’ देखाइनेछ। छैठौँ दिन गोरखाको ‘रंगकला’ का रामबाबु रेग्मीले तयार पारेको ‘विकास भर्सेज निकास’ देखाइनेछ। त्यस्तै महोत्सवको अन्तिम दिन असार ८ गते सातौँ नाटक नेपालगञ्जको ‘एम आर्ट थिएटर’को ‘कजरी’ देखाइने भएको छ।