काठमाडौँ – जुनसुकै पर्यटकीय स्थल होस्, त्यहाँ पुगिसकेपछि मानिसहरु आफ्ना सारा दुख बिर्सन्छन्। प्राकृतिक सौन्दर्यले जो कोहीको मन लोभ्याउँछ। यस्तै रमणीय पर्यटकीय स्थलको रुपमा परिचित छ मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर।
मानव निर्मित यस ताल काठमाडौँबाट फर्पिङ, दक्षिणकाली हुदै जान सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि यो ताल पिकनिक गन्तव्य पनि हो। तालमा घुम्न, पिकनिक खानमात्र नभएर चलचित्र र म्युजिक भिडियो छायाँकनका लागिसमेत पुग्नेहरुको संख्या बढ्दो छ। सरोवरमा बोटिङ र स्वीमिङ गर्नसमेत सकिन्छ। झोलुङ्गे पुल, झरना र वरिपरिको हरियाली वन त्यहाँका मुख्य आकर्षणहरु हुन्।

हरियाली जंगलको बीचमा रहेको यो तालमा चाडपर्व वा बिदाको दिन मानिसहरुको घुइँचो लाग्छ। केही वर्षअघि भएको काव्य मेला र प्याराग्लाइडिङको सफल परीक्षणपछि त्यस क्षेत्रको प्रचारले थप व्यापकता पाएको इन्द्र सरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा बताउँछन्। उनका अनुसार वर्षमा करिब १ लाख २० हजार आन्तरिक तथा बाह्य पर्यटक इन्द्रसरोवर पुग्ने गरेका छन्। सो क्षेत्र भएर दामनको भ्यूटावर, सिमभञ्ज्याङ, चित्लाङ र चन्द्रागिरीसम्म जान सजिलो हुने भएकाले पनि पर्यटकहरुको रोजाइमा इन्द्रसरोवर पर्ने गरेको अध्यक्ष लामाको भनाइ छ।

मार्खु र कलंकी वरिपरिका ९ वटा खोला तथा खोल्साका पानीलाई एकत्रित गरेर २०३८ सालमा इन्द्रसरोवर तालको निर्माण गरिएको हो। कुलेखानी बाँधबाट ६ किलोमिटर लामो सुरुङ हुँदै लगिएको पानीले भिमफेदीको धोर्सिङमा ६० मेगावटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो आयोजना सञ्चालन गरिएको छ। १४ मेगावाटको तेस्रो आयोजना निर्माणाधीन छ।
८ किलोमिटर लम्बाई र ९६ मिटर गहिराई रहेको जलासयमा ४४ लाख १६ हजार घनमिटर पानी सञ्चयको क्षमता छ। नेपालमा महत्वपूर्ण हिस्सा विद्युत आपूर्ति गर्दै आएको इन्द्रसरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो।

केही वर्षअघिसम्म कुनै पर्यटकीय पूर्वाधारहरु नभएको कुलेखानीमा अहिले भने होटल, लज र होमस्टेसमेत सञ्चालनमा छन्। जहाँ स्थानीय अर्गानिक खानाहरुको स्वाद लिन सकिन्छ। गाउँपालिका र स्थानीयवासीहरु तालको पर्यटकीय व्यवस्थापनमा पनि जुट्दैछन्। पर्यटकहरुलाई नै लक्षित गरेर इन्द्रसरोवर गाउँपालिका– ४ स्थित ऐतिहासिक स्थल फाखेलमा ‘मदन भण्डारी फाखेलमैत्री पार्क’ बन्दैछ। त्यसैगरी वडा नं. ३ जातिपोखरीमा बुद्ध पार्कको निर्माण हुने भएको छ। यि सबै स्थलहरुको निर्माण सम्पन्न भइसकेपछि पर्यटकहरुको आगमनमा अझ वृद्धि हुने अध्यक्ष लामाले विश्वास व्यक्त गरे।

