काठमाडौँ - संसदमा प्रस्तुत बजेटसँगै विभिन्न मन्त्रालयले तर्जुमा गरेका योजना र बिनियोजित बजेटमाथि छलफल चलिरहेको छ। सांसदहरूले आफ्ना सुझाव, सहमति, असहमति राख्ने क्रम जारी छ।
दुई सय ७५ जना सांसद रहेको संघीय संसदमा केही सांसदको प्रस्तुति व्याख्या र चर्चाको विषय बन्ने गरेको पाइन्छ। उनीहरूको प्रस्तुति निकै आक्रामक र ओजपूर्ण देखिन्छ। संसदमा आफ्नो पार्टीको ह्वीपको पर्वाह नगरी सत्यका पक्षमा उभिएर निडर रुपमा अभिव्यक्ति दिने सांसदको संख्या कम छ। जसले सरकार, पार्टी र सम्बन्धभन्दा माथि देश र जनतालाई राखेको पाइन्छ। समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न उनीहरूले देखे भोगेका र सम्भावित घटना तथा दुर्घटनालाई संसदमा उठाइरहेका छन्। यस सन्दर्भमा केही सांसद र उनीहरूका अभिव्यक्तिबारे चर्चा गरिएको छ।
गगन थापा
नेपाली राजनीतिमा गगन थापा चिरपरिचित नाम हो। सभादेखि संसदसम्म उनको प्रस्तुति आक्रामक र ओजपूर्ण हुने गर्दछ। पार्टीभित्र र पार्टीबाहिर थापाका समर्थक, दर्शक र पाठक धेरै छन्। सामान्य नागरिकदेखि चर्चित कलाकार, नेतासम्मले थापालाई मुलुकको सम्भावित नेताका रुपमा हेर्ने गरेका छन्। खासगरी संसदमा उनको प्रस्तुति तथ्य, सत्य र अंकगणितीय हुन्छ। जुन कुरा आम मानिसले रुचाइदिन्छन्। विपक्षीहरुसमेत विश्वास गर्न बाध्य हुन्छन्। नेपाली कांग्रेसभित्र उनलाई गुट बाहेककाले कम रुचाउँछन् भन्ने पनि सुनिन्छ। तर, अधिकांश मानिसले मनपर्ने युवा नेताको रुपमा थापालाई लिने गरेका छन्।
आजका दिनसम्म पारदर्शी छवि बनाएका नेता थापाले संसदमा थुप्रै विषयहरू उठाएका छन्। तिमध्ये २०७६ असार १ गतेको संसद बैठकमा ‘सरकारबाट प्रधानमन्त्री केपी ओलीका अरिङ्गालबाहेक अरु कोही सुरक्षित छैनन्’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘म त भन्छु, प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथीहरु पनि होशियार! प्रस्तावित विधेयकहरु संविधान र अभिव्यक्ति स्वतन्त्रता विरोधी छ। यसका विरुद्धमा बोल्न, लेख्न र जनमत निर्माण गर्न सबैलाई आग्रह गर्दछु। ’
यसरी उनले आफूलाई लागेको र आमजनताले विभिन्न माध्यमबाट अभिव्यक्त गरिरहेका असन्तुष्टिहरुलाई निर्धक्कसाथ संसदमा प्रस्तुत गर्दै आएका छन्। उनी आफ्नै पार्टी र पार्टी नेतृत्वका विरुद्धमा पनि तथ्य र कारणसहित अभिव्यक्ति दिन्छन्। संयोग मान्ने या सत्य। उनले संसदबाट जनमत निर्माण गरेर सरकारका विरुद्धमा उभिनलाई गरेको आग्रहको तेस्रो दिन असार ४ गते माइतीघरमा गुठी विधेयक खारेजीको माग गर्दै मानव सागर उर्लियो।
जनार्दन शर्मा
संसदका अर्का सशक्त एवं प्रभावशाली सांसद हुन जनार्दन शर्मा। उनी हक्की र नीडर नेताको रुपमा चिनिन्छन्। सांसद शर्मा पूर्वगृहमन्त्री, उर्जामन्त्री भइसकेकाले पनि उनलाई सरकारका काम कारबाहीका बारेमा राम्रो जानकारी छ। त्यसैले पनि उनी समस्या र समाधानका उपायसहित संसदमा प्रस्तुत हुन्छन्।
उनलाई पनि पक्ष विपक्षको नजरभन्दा माथि उठेर हेर्ने गरिन्छ। कर्णाली प्रदेशको रुकुम पश्चिमका सांसद शर्मा राम्रोलाई राम्रो भन्न र गलतलाई गलत भनेर वकालत गर्न कुनै डरभयबाट प्रभावित हुँदैनन्। खुल्ला चुनौती दिएर बोल्ने सांसद मध्येमा उनी अग्रपंक्तिमा पर्छन्। उनले २०७६ असार ४ गते संसदमा प्रधानमन्त्री र मन्त्रीहरू पहुँचका आधारमा योजना विनियोजन र बजेट तर्जुमा गरिएको भन्दै विरोध जनाएका थिए।
उनले भनेका थिए, ‘रुकुमका लागि छुट्याइएको बजेट रकमान्तरण गरी झापा र धनुषा लैजानुहोस्। मन्त्रालयले नेतामुखी र आफूअनुकुल योजना वितरण गरेको छ। म भन्न चाहन्छु, यो बजेट रकमान्तर गरेर झापा हालियोस्। यसका लागि म प्रधानमन्त्रीज्युलाई सहयोग गर्न तयार छु। झापा मात्रै भन्यो भनेर मन्त्रीजीलाई दुःख लाग्छ भने थोरै जनकपुरमा पनि लगियोस्। संघीयता भएपछि सन्तुलित विकास होला, पछि परेका क्षेत्रले प्राथमिकता पाउलान् भन्ने लागेको थियो। केन्द्रीकृत र नेतामुखी बजेट बनाइयो, दुःख लागेको छ।’
रामकुमारी झाँक्री
विद्यार्थी राजनीतिबाट उदाएकी चर्चित नेतृ रामकुमारी झाँक्री पनि संसदमा आक्रामक रुपमा प्रस्तुत हुने सांसद हुन्। संसदमा उनको पहिलो अनुभव भए पनि जनजीविका, योजना बाँडफाँड, सरकारका काम कारबाहीका बारेमा सांसद झाँक्री खुलेर आफ्नो धारणा राख्छिन्।
गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा प्रदान गरिएका पदकलाई ‘राजतन्त्रकै नयाँ नक्कली स्वरुप’ भनेर टिप्पणी गरेकी थिइन्। त्यसअघि उनले राष्ट्रपतिको सवारीका कारण राजधानीमा बिरामीको मृत्युसम्म भएको र जनताहरू वाक्कदिक्क बनेको भन्दै आफू ‘राष्ट्रपति भएको भए जनतासँग हात मिलाएर हिँड्ने थिएँ’ भनेर अभिव्यक्ति दिएकी थिइन्। जुन कुरा सर्वत्र ‘भाइरल’ बनेको थियो।
सांसदलाई ल्यापटप वितरण गर्ने निर्णय भएपछि उनले यसको पनि खुलेर विरोध जनाइन्। २०७६ जेठ ३० गतेको संसद बैठकमा बोल्दै उनले सो निर्णयले सांसदको हुर्मत लिने बताउँदै सस्तो लोकप्रियताको खोल नओढ्न सरकारलाई आग्रह गरेकी थिइन्। ‘कहिले ६ करोड सांसद विकास कोषको नाममा, ५१ सालमा निर्णय गरिएको भन्सार सुविधामा गाडी ल्याउने कुरा। यी सबै कुराले सांसदहरूलाई जनतासँग दुरी बढाउने र सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको देखिन्छ,’ सांसद झाँक्रीले भनेकी थिइन्।
प्रकाश रसाइली ‘स्नेही’
सुदूरपश्चिम प्रदेशको बझाङका सांसद हुन् प्रकाश रसाइली ‘स्नेही’। नेपाली कांग्रेसका सांसद स्नेही संसदमा चर्को रुपमा अभिव्यक्ति राख्ने सांसदको पंक्तिमा पर्छन्। २०७६ असार ३ गतेको संसद बैठकमा उनको भूमिका विशेष देखियो।
प्रधानमन्त्री पहिले कि विपक्षी दलका नेता पहिले बोल्ने? भन्ने विषयका कारण त्यो दिनको संसद बैठक स्थगित भएको थियो। जुन दिन गगन थापा अनुपस्थित थिए। सांसद रसाइली रोष्टम घेर्न पुगे। नाराबाजी गरेर कांग्रेसका सांसदहरूलाई विरोधमा उत्रिन बाध्य बनाए।
संसदमा पहिले प्रश्न र पछि जवाफ हुने भन्दै कांग्रेस सांसदहरूले विरोध गरेपछि संसद बैठक स्थगित भयो। उनै रसाइलीले २०७६ असार ४ गतेको संसद बैठकमा विनियोजित योजनाहरू प्रधानमन्त्री र भौतिक तथा यातायात मन्त्रीमैत्री भएको भन्दै खरो आलोचना गरे।
उनले बाजुरा, बझाङलाई २०७६/०७७ ले उपेक्षामा पारेको जिकिर गरे। सुदूरपश्चिमका धेरै जिल्लामा निमार्णधीन भौतिक संरचनाहरू अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। यातायात मन्त्रीको जिल्लामा १८ वटा रणनीतिक योजना पारिएको र बझाङमा एउटा पनि नराखिएको उनको भनाइ थियो। सांसद रसाइलीले प्रधानमन्त्री रोजगार कार्यक्रम तत्काल खारेज गर्न माग गरेका छन्। आगामी वर्ष यही कार्यक्रमसँग जोडिएर अनियमितता हुने र सरकार थप आलोचित/अलोकप्रिय बन्ने भन्दै उनले उक्त माग गरेका हुन्।
त्यस्तै संसदमा भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, विराेध खितवडा, गजेन्द्रबहादुर महत, डा. डिला संग्रौला, झपट रावललगायत सांसदहरूको उपस्थिति र प्रस्तुति प्रभावकारी देखिन्छ। उनीहरू सरकार र पार्टीका गलत काम र निर्णयहरूको खुलेर विरोध गर्छन्।