काठमाडौँ – नृत्यका पारखीहरुलाई लक्षित गरेर ‘नेपाल नृत्य उत्सव’ कार्यक्रम हुने भएको छ। नृत्य विधाका विभिन्न गतिविधिहरुलाई एकै ठाउँमा ल्याउँदै असार १९ देखि २१ सम्म तीन दिवसीय ‘नेपाल नृत्य उत्सव’ हुने भएको हो।
राष्ट्रिय नाँचघरमा आयोजना हुन लागेको यस कार्यक्रममा स्वदेशी तथा विदेशी कलाकारहरुद्वारा नृत्यसम्बन्धी प्रशिक्षण, कार्यशाला, प्रदर्शन तथा छलफल, विचार गोष्ठीहरु हुने आयोजकले जानकारी दिएका छन्।
‘तपाईंलाई संस्कृति मन पर्छ भने हामी फेरि एकपटक भेट्नेछौ ,तपाईलाई नृत्य मन पर्छ भने हामी फेरि एकपटक भेट्नेछौँ’, भन्ने नारामा आधारित भएर कार्यक्रमले कलात्मक गतिविधिमार्फत साँस्कृतिक आदानप्रदानको वातावरण बनाई देशैभरिका नृत्यकर्मीहरुलाई एक ठाउँमा ल्याएर साँस्कृतिक बहसलाई निरन्तरता दिने अपेक्षा गरिएकको निर्देशक नम्रता केसीले जनाकारी दिइन।
नेपालमा नृत्य विधाको सिकाई (शैक्षिक पद्धति) लाई सान्दर्भिक बनाउने र अद्यावधिक गराउने मूल लक्ष्यका साथ कार्यक्रमले नेपाली लोक र परम्परागत नृत्यहरुको सैद्धान्तिक ज्ञान र अभ्यासलाई बलियो बनाउन मद्दत पुग्नेछ। यसका साथै, मौलिक नृत्यहरुको खोजी मार्फत विविध नेपाली संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ।