काठमाडौँ – महिलाहरुको समग्र विकास र क्षमता वृद्धि गर्ने उद्देश्यका साथ नेपालमा पहिलोपटक ‘मिस ग्राण्ड इन्टरनेशनल नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता बलिक्लब ग्रुप र बलिउड शो डाउनले आयोजना गर्न लागेको हाे।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको लागि धरान, धनगढी, चितवन, पोखरा र काठमाडौँमा अडिसन हुने जानकारी दिएको छ। आयोजकका अनुसार उक्त अडिसनहरूबाट छानिएका २५ प्रतियोगीका लागि २० दिनको आन्तरिक ग्रुमिङ कक्षालगायत तालिम सञ्चालन गरिनेछ।
सहभागिताका लागि आजैबाट निशुल्क आवेदन खुला भएको आयोजकले जानकारी दिएको छ। अडिसनमा भाग लिन चाहनेहरूले अनलाइनमार्फत ३० दिनभित्र फाराम भर्न सक्नेछन्। यसका लागि प्रतियोगिताको आधिकारिक वेबसाइट www.missgrandnepal.com मा गई फारम भर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन अविवाहित, १७ वर्षदेखि २७ वर्ष उमेर, न्यूनतम उचाई ५ फिट ५ इन्च र नेपाली नागरिक हुनुपर्ने प्रावधान राखिएको छ। प्रतियोगिताको विजेताले भेनेजुयलामा हुने ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’ सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ।