काठमाडौँ, २ माघ – डेब्यु निर्देशक सुयोग गुरुङको निर्देशनमा चलचित्र ‘सानो मन’ निर्माण हुने भएको छ। चलचित्रको छायाङ्कन माघ ७ गतेबाट शुरु हुने तयारीमा छ। चलचित्र म्युजिकल लभस्टोरी कथामा तयार भएको छ।
चलचित्रमा नायक आयुष्मान देशराजजोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहनेछ। आयुष्मानले धेरै अगाडि चलचित्र साइन गरेका थिए। उनी भन्छन्, ‘चलचित्रमा मेरो भूमिका नव–निर्वाणको छ। कथावस्तु सामान्य रहे पनि मिठो छ।’
त्यस्तै चलचित्र ‘कागजपत्र’ र ‘द ब्रेकअप’मा काम गरिसकेकी शिल्पाले २ वर्ष अगाडि लण्डनमा हुँदा नै चलचित्र साइन गरेको र यो चलचित्रको कथावस्तु राम्रो लागेकाले आफूले छाड्न नसकेको बताइन्।
योगेश गुरुङ, राजीव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानीमा तयार हुने चलचित्रको छायाङ्कन काठमाडौँ, भैरहवा, हङकङ र मकाउमा हुनेछ। चलचित्रलाई आलेक शुक्लाले छायाङ्कन गर्नेछन् भने चलचित्रमा निर्देशक गुरुङ र समिर सुनवारको कथा रहेको छ ।
चलचित्र ‘सानो मन’मा आयुष्मान, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल र रश्मी भट्टको भूमिका रहेको छ। यो चलचित्रलाई निर्देशक सुयोगले आफ्नो सपनाको चलचित्र भनेका छन्।