धनगढी - धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेट आज चौथो नगरसभामा पेश गरेको छ । धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले नगरसभामा १ अर्ब ४८ करोड ४ लाख ४८ हजारको बजेट पेश गरेकी हुन् । जसमध्ये चालूतर्फ ७६ करोड ३६ लाख ४२ हजार १ सय ६६ रुपियाँ ३८ पैसा र पूँजीगततर्फ ८१ करोड ६ लाख ५ हजार ८ सय ३३ रुपैयाँ ६२ पैसा रहेको छ । नगरपालिकामा कार्यान्वयन हुने तर रातो किताबमा समावेश गर्न नपर्ने अनुदानतर्फको ५७ करोड ४२ लाख यस बजेटमा नसमेटिएको उपमेयर मिश्र भट्टले बताइन् ।
बजेट तथा कार्यक्रमले पूर्वाधार विकासमा सुधारिएको सडक, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणलाई जोड दिएको छ । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड, सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन र प्राकृतिक बिपद तथा पूर्वतयारी, राहत वितरण, पुनर्स्थापना, पुनः निर्माणलाई प्राथमिकतामा राखेको छ । कृषितर्फ जैविक खेतीलाई प्रोत्साहन गर्ने, बगरखेतीलाई प्रोत्साहन गर्ने, एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिने, वडा नं १२ मा द्वारिकादेवी कृषि अनुसन्धान केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रम समावेश गरिएका छन् । पशु विकासतर्फ छाडा पशुचौपायामा भ्याक्सिनेशन, पशुको नस्ल सुधार, पशु बीमालगायतका कार्यक्रम समेटिएका छन् ।
पर्यटन विकासतर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकीय स्थल जोड्न कोरिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरूको विकास, संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको प्रवर्द्धन गर्नेलगायतका कार्यक्रम रहेका छन् । सामाजिक विकासतर्फ बालबालिका, किशोरकिशोरीसँग उपमेयर कार्यक्रम, शिक्षातर्फ असहाय र विपन्नसँग मेयर कार्यक्रम, विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ’ कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । धनगढी उपमहानगरपालिकाका उपमेयर भट्टले निकै मेहनतका साथ स्थानीय तहले अवलम्बन गर्ने सबै प्रक्रिया पूरा गरेर नगरवासीका मागहरूलाई स्रोत साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको बताइन् ।
धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगरसभाका सदस्यसचिव नारायणप्रसाद सापकोटाले वार्षिक नीति, कार्यक्रम तथा बजेटमाथिको छलफल जारी रहेको बताए । भोलि सोमबार बिहान ८ बजे पुनः बस्ने गरी नगरसभाको बैठक सम्पन्न भएको जानकारी दिए ।
प्रतिपक्षको विरोध
धनगढी उपमहानगरपालिकाले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेटप्रति सत्तापक्षका नगरसभा सदस्यले पूर्ण समर्थन जनाए पनि प्रतिपक्षी सदस्यहरू भने असन्तुष्ट रहेका छन् । उनीहरूले बजेटले उपमहानगरका सबै वडालाई नछोएको भन्दै विरोध जनाएका छन् ।
धनगढी उपमहानगरसभामा नेपाली कांग्रेसको पूर्ण बहुमत छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रतिपक्षमा छ । नेकपाका नगरसभा सदस्यहरूले उपमहाननगरले एकलौटी किसिमको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भन्दै आपत्ति जनाएका छन् ।
नेकपाबाट निर्वाचित वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले वडा नम्बर ३ मा कटान नियन्त्रणका लागि बजेट नै विनियोजन नभएको भन्दै आपत्ति जनाए । उनले शिक्षामा पनि सो वडाका लागि बजेट विनियोजन नभएको बताए । आफ्नो बहुमत भएको वडाका विभिन्न ठाउँमा बजेट विनियोजन भएको तर अन्य पार्टीको बहुमत भएको वडामा बजेट विनियोजनमा कञ्जुस्याइँ गरेको भन्दै उनले यो नीति तथा कार्यक्रम र बजेट आफूलाई मान्य नहुने बताए ।
नेकपाबाटै निर्वाचित वडा नम्बर १५ का अध्यक्ष फुलराम चौधरीले वडा अध्यक्षहरूसित समन्वय नै नगरी नगरसभाले बजेट प्रस्तुत गरेको बताए । आफूले वडाबाट पेश गरेका योजनाहरूभन्दा फरक योजना नगरसभामा प्रस्तुत भएको उनको दाबी थियो । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरूले भने नीति, कार्यक्रम तथा बजेटको पूर्ण समर्थन जनाएका छन् । आफ्नो वडाबाट सिफारिश भएकै योजना बजेटमा समेटिएको भन्दै उनीहरूले बजेट नगरवासीको हितमा रहेको दाबी गरे । यस बजेटले उपमहानगरको गरिबी, बेरोजगारी समस्यालाई समेत सुधार्ने वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए ।