काठमाडौँ – सत्तारुढ नेकपाका सांसद अग्नि सापकोटाले त्रिभुवन विश्व विद्यालयले नम्बर बढाएर दिएको गोल्ड मेडलको बारेमा प्रश्न उठाएका छन्। सोमबार संघीय संसद बैठकको शुन्य समयमा बोल्दै सांसद सापकोटाले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिने कस्तो शिक्षा प्रणाली हो? भन्दै प्रश्न गरे।
उनले विकासको मेरुदण्डको रुपमा लिइने शिक्षाको प्रमाणपत्रलाई पैसामा किनबेच गर्ने संस्कृतिले विकृति पैदा गरेको बताए। उनले भने, ‘राजनीतिक, आर्थिक, शैक्षिक, हरेक सांस्कृतिक हिसाबले सुशोभित हुनुपर्ने शिक्षा आज विकृति र विसंगतिको थलो बन्न पुगेको छ। यहाँ सबै माननीयलाई थाहा छ, त्रिभुवन विश्वविद्यालयका कर्मचारीले आफ्नै मान्छेहरुलाई जाँच लिने र उत्तीर्ण गराउने क्रममा आज जम्मा ९ नम्बरलाई ६९ बनाएर गोल्डमेडल लिएको रे.., यो कुरा के हो?’
शिक्षा मन्त्रालयको विद्यालय सुधार, विद्यार्थी भर्ना लगायतका कार्यक्रम राम्रो भए पनि पैसामा सर्टिफिकेट किन्ने र ९ नम्बरलाई ६९ नम्बर बनाउने प्रवृत्तिलाई अन्त्य गर्ने संकल्प गर्न सक्छौ कि सक्दैनौँ ? सांसद सापकोटाले प्रश्न गरे।
सांसद सापकोटाले अहिलेको शिक्षा प्रणालीलाई अन्त्य गरी नयाँ प्रणालीको विकासका लागि संकल्प तयार गर्नुपर्ने औँल्याए। उनले यो विकृत संस्कृति र प्रणालीको अन्त्य गर्न नसके सम्वृद्ध नेपाल सुखी नेपाली को नारा नारामै सीमित हुने तर्क गरे।