वीरगन्ज - वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी आफूलाई सुझबुझका साथ प्रस्तुत गर्दै शान्तिपूर्ण हिसाबले नगरसभा सम्पन्न गर्ने दिशामा सकारात्मक देखिएका छन्। आज सोमबारदेखि वीरगन्जको होटल पूजनमा शुरू भएको दुईदिने पाँचौँ नगर सभामार्फत उनले चालू आवको तुलनामा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा करिब ८२ करोड ७३ लाख घटाएर कुल रू. ४ अर्ब ४८ करोड १३ लाखको बजेट ल्याउन लागिएकाे बताएका छन्। उद्घाटन सत्रमा उनले चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ३० करोड ८६ लाख बजेट विनियोजन गरेकोमा राजस्व संकलन डगमगाएका कारण आगामी वर्षमा बजेट घटाउन लागिएको उनले स्पष्ट पारे।
उनले भने, ‘चालू आवमा आन्तरिक आयतर्फ ५५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्नुपर्ने अनुमान गरिएकोमा असार मसान्तसम्ममा जम्मा ५२ प्रतिशतका दरले ३२ करोड मात्र उठाउन सकियो, त्यस कारण यसपालिको बजेट कम गर्न बाध्य भयौँ।’
उनले राजस्वको महत्वाकांक्षी लक्ष्य, करको दर उच्च भएका कारण, करको दायरा बढ्न नसक्नु एवं कर घट्ने अफवाह, स्वयं कर पालनाको कमी र कर प्रशासनमा कडाइ नगरिएकाले लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको हो, त्यसले गर्दा नगर विकास खर्च व्यवस्थापनमा संकुचन आएको बताए। महानगरले ल्याउन लागेको आगामी वर्षको बजेटमा चालूतर्फ १ अर्ब ३८ करोड २४ लाख (३०.८५ प्रतिशत), पूँजीगततर्फ ३ अर्ब ३ करोड ८९ लाख (६७.८१ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ रू. ६ करोड (१.३४ प्रतिशत) गरी विनियोजन गर्न भनिएको छ।
कसरी बेहोर्ने ?
१.केन्द्र सरकारबाट
– वित्तीय समानीकरणतर्फ रू. ४४ करोड १४ लाख,
– राजस्व बाडफाँडबाट रू. २६ करोड ७४ लाख,
–सशर्त अनुदानबाट रू. ६१ करोड २३ लाख।
२.प्रदेश सरकारबाट
–वित्तीय समानीकरणबाट रू. १ करोड १५ लाख,
–सशर्त अनुदानबाट रू. ३ करोड,
–राजस्व बाँडफाँटबाट रू. ३ करोड १४ लाख,
– घरजग्गा रजिष्ट्रेशनबाट रू. ६ करोड,
– सरसफाइ सेवा शुल्क रू. १ करोड ५५ लाख
–नगर विकास अनुदानबाट रू. २ अर्ब २० करोड ६५ लाख,
– नगर विकास ऋणअन्तर्गत रू. ७ करोड ७६ लाख,
–सडक बोर्डतर्फ १ करोड ५० लाख, युनिसेफबाट १ करोड १६ लाख, यसैगरी नगद मौज्दाततर्फ २१ करोड ४३ गरी ४ अर्ब ४८ करोड रुपैया बेहोर्ने लक्ष्य लिइएको छ।
कसरी खर्च गर्ने ?
कुल खर्चमध्ये आर्थिक विकास क्षेत्रमा रू. २ करोड ३४ लाख, पूर्वाधार विकासतर्फ २ अर्ब ९४ लाख, सुशासन तथा अन्तरसम्बन्ध क्षेत्र (वन, वातावरण तथा विपद समेत) मा ३ करोड ३२ लाख, कार्यालयतर्फ ७६ करोड ३४ लाख, मुख्य योजनाहरूमा आरयूडीपी तथा एसटीआईयूईआईपीमा २ अर्ब २८ करोड ४२ लाख, वडास्तरीय योजनामा १९ करोड ७० लाख, म्याचिङ फन्डमा २३ करोड १२ लाख, लक्षित कार्यक्रममा १ करोड १५ लाख, तराई मधेश समृद्धि कार्यक्रममा १ करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा १ करोड ५० लाख, प्रधानमन्त्री रोजजगार कार्यक्रममा ४५ लाख ९४ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ २० लाख, सामाजिक सुरक्षातर्फ २० करोड, वडा भवनतर्फ ४ करोड, उज्यालो वीरगन्जमा ३ करोड, शैक्षिक विकासतर्फ ५२ करोड ४१ लाख, स्वास्थ्यतर्फ १० करोड ७५ लाख, कृषितर्फ ५६ लाख, पशु विकासतर्फ २५ लाख, जनसहभागितातर्फ ४ करोडलगायत गरी छुटपुट योजनाका लागि योजना बैंकमा स्रोतको उपलब्धताका आधारमा कार्यक्रम सञ्चालन गरिने भनिएको छ।
महानगरपालिकाले पोहोरको आर्थिक वर्ष २०७४/०७५ का लागि जम्मा ४ अर्ब ३० करोड ५६ लाखको बजेट ल्याएको थियो।
केके छन् विशेष योजना ?
–वीरगन्ज–३० लालपर्सामा ट्रान्सपोर्ट नगर बनाइने,
–भेडहा खोलाको जंगलमा पिकनिक र पर्यटकीय स्थल बनाउने,
–महानगरमा बेरोजगारी न्यूनीकरणका लागि सीटीईभीटीसँग समन्वय गरी अमिन, जेटीए, भेटनरी, इलेक्ट्रेशियन, डकर्मी, सिकर्मी, धारा मिस्त्रीहरूका लागि तालिम केन्द्र सञ्चालनमा ल्याइने र ५ हजार जनालाई रोजगारी दिइने,
– आदर्शनगरको पुरानो बसपार्कलाई मल बनाएर आन्तरिक आम्दानीको स्रोत बढाउनेलगायतका स्थानीय गौरवका योजनाहरू ल्याउने बताइएको छ।
नगर सभामा किन भएन विवाद ?
दुई वर्षमा विगतमा वर्षमा दुईवटा नगरसभाको हिसाबले चारवटा नगर सभा भएका छन्, जसमा हरेकमा कुनै न कुनै विवाद हुन्थ्यो। तर, आज आयोजित नगर सभा विवादरहित रह्यो। यसको कारण वीरगन्जका मेयर सरावगी बजेट बाँडफाँटको सवाल र करको दरमा गम्भीर बन्दै सबैको अपनत्व हुने गरी बजेट ल्याएका छन्। उनले बजेट ल्याउनुभन्दा पहिले वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिकाका सदस्य तथा विभिन्न सरोकारवाला, उद्योगी, पत्रकार, व्यापारी, महिला, अर्थविद्, शिक्षाविदलगायत क्षेत्रका व्यक्तिहरूसँग सुझाव संकलन गरेका थिए। पहिलेको हाकिमभन्दा हालका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत पनि स्थानीय तहमा लामो समयदेखि काम गर्दै आएकाले पनि कंक्रिट किसिमको बजेट आएको जानकारहरूको विश्लेषण छ। अर्कोतर्फ दुई वर्ष लगभग बितेकाले सबै जनप्रतिनिधिमा आफ्नो नगरको विकासका लागि परिपक्वता पहिलेभन्दा बढी देखिएको छ। पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न नगर सभामा प्रदेश सांसदहरू ओमप्रकाश शर्मा, करिमा वेगम, विभा यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मेयर चढ्ने गाडीको बन्द सत्रमा चर्चा
नगर सभा सफल गराउन चालू आर्थिक वर्षमा वीरगन्जमहानगरको ४० जना बोर्ड सदस्य र ३ जना कर्मचारीलाई गरी ४३ वटा पल्सर बाइक र मेयर सरावगीका लागि २ करोडको मित्सुबिसी कार किनेकोमा चर्को आलोचना भएको छ। कार्यपालिका सदस्य सुरज कुर्मीले मेयर साहेबले मेयर बन्दा एउटा गाडी नलिने भन्नुभएको थियो, तर अहिले २ करोडको गाडीको चर्चाले महानगरको स्रोत साधन उहाँले नै दोहन गरिरहनुभएको छ। अर्कोतर्फ बोर्ड सदस्यलाई २/२ लाखको पल्सर मोटरसाइकलले पनि महानगरको छवि धमिल्याएको उनले बताए। त्यसैगरी, नगर परिषद् सदस्य जतन राउत कुर्मीले पछि थपिएको १६ वडा निकै पछाडि परेकाले बाँकी तीन वर्षसम्म कुनै कर नलिन पनि बन्द सत्रमा सुझाव दिएका छन्।