काठमाडौँ - उपन्यासकार तथा लेखक देवेन्द्र न्यौपानेको चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन गरिएको छ। नेपाल प्रहरीको लागूऔषध ब्युरोद्वारा अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवस तथा लागूऔषध दुर्व्यसनविरुद्धकाे सप्ताहव्यापी कार्यक्रमकाे पूर्वसन्ध्यामा सोमबार यहाँ आयोजित कार्यक्रममा लेखक न्यौपानेको उक्त उपन्यास विमोचन गरिएको हो।
उपन्यास महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी शैलेश थापा क्षेत्री र लागूऔषध ब्युरोका प्रमुख डीआईजी दिनेश अमात्यले संयुक्त रूपमा विमोचन गरेका थिए। कार्यक्रममा डीआईजी क्षेत्रीले काठमाडौँ उपत्यकामा प्राकृतिक लागूऔषधभन्दा औषधिजन्य लागूऔषधको समस्या बढ्दै गएको बताए। लागूऔषधको दुरुपयोग नियन्त्रणका लागि प्रहरीका साथसाथै स्थानीय समुदायको पनि महत्त्वपूर्ण भूमिका रहेको उनले बताएका थिए।
डीआईजी अमात्यले कुलतमा लागेका व्यक्तिले मात्र नभएर घरपरिवार र समाजले समेत निकै ठूलो मूल्य चुकाउनुपरेको बताए। एउटा किशोरले कुलतबाट छुटकारा पाउन गरेको अठोट, त्यसका लागि उसले चालेको कदम र यसबाट उसको जीवनमा आएको परिवर्तनलाई समेटेर उपन्यास लेखिएको उपन्यासकार न्यौपानेले बताए।
नेपालमा हाल १ लाख ५० हजार बढी युवा कुलतमा फसेको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। नेपालमा वार्षिक १२ प्रतिशतको गतिमा लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले लागूऔषध दुरुपयोग रोक्नका लागि विशेष योगदान पुर्याएका छन्।
सोही अवसरमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारलाई समेटेर बनाइएको सडक नाटक, नृत्य र ब्यान्डसमेत प्रस्तुत गरिएको थियो। (रासस)