काठमाडौँ– महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति मुनामदन पलेँटीमा मञ्चन हुने भएको छ। सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालको धुनमा मुनामदनलाई पलेँटीमा मञ्चन गरिने भएको हो।
सिक्किम गान्तोकमा उनको संगीतमा पहिलो पटक मुनामदन देखाइएको थियो। ठटालले सन् १९७७ मा यो कृतिमा संगीत दिएकी थिइन्। उनले त्यति बेला दिइएको संगीतलाई पुन पलेँटीमार्फत अगाडि ल्याउन लागिएको हो।
गत महिना देखि ठटाल काठमाडौँमा बसेर मुनामदनको संगीत संयोजन गरिरहेकी छिन्। उनले आफ्ना पुराना धुनहरूलाई परिमार्जन गरिरहेको आयोजकले जनाएको छ।
दार्जेलिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटाललाई संगीत संयोजनमा विमला सेन्चुरी प्रधानले सहयोग गरिरहेकी छिन्। त्यसैगरि मुनामदनका हरफहरुलाई गायिका मिना निरौलाको साथमा आभास, बलराम समालले पनि स्वर दिनेछन्।
मुनामदन असार १३, १४ र १५ मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको कार्यक्रमस्थल ‘आरशाला’मा प्रस्तुत हुनेछ। नेपालयको ‘आरशालामा अभ्यासरत शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकाशनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिइरहेका छन्।