काठमाडौँ - सामाजिक अभियन्ताहरूले माइतीघर मण्डलामा लालटिन र मैनबत्ती बालेर सरकारले किताबमाथि लगाएको करको विरोध जनाउने भएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी शुक्रबार ४ बजे विरोध जनाउने जानकारी गराएका हुन् ।
विरोध कार्यक्रममा शिक्षामा परिवर्तन र पठन संस्कृतिको प्रवर्द्धनमा लागेका अभियन्ता विद्यार्थी, पाठक, लेखक, प्रकाशकलगायत अन्य नागरिकहरू उपस्थित हुने विज्ञप्तिमा उल्लेख छ ।
ज्ञानको स्रोत किताबमाथि कर लगाउने सरकारको निर्णय आपत्तिजनक र गैरजिम्मेवारपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएकाे छ, सरकारले पुस्तक तथा अन्य शैक्षिक सामग्री आयातमा लगाएको १० प्रतिशत कर पनि नियमसंगत छैन ।
‘किताबमाथि कर लगाउनु भनेको ज्ञानमाथि बन्देज लगाउनु हो,’ अभियन्ताहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व नै चकित हुनेगरी नेपाल सरकारले ज्ञानमाथि बन्देज लगाउने काम गरेको छ । नेपाल सरकार नेपालको संविधान, ०७२ ले ग्यारेन्टी गरेको नागरिकको शिक्षा र सूचनामाथिकाे मौलिक अधिकारमा धावा बोलेको छ ।’
शैक्षिक विकास र पठन संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने थुप्रै कामहरू रहेको बताउँदै किताबमाथि बन्देज गर्ने काम हिटलरजस्ता तानशाहको भएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार बौद्धिकताविरोधी सरकार भनेर बदनाम छ, त्यसमाथि पटक–पटक कर लगाउने जस्तो मूर्खतापूर्ण काम गर्नुभन्दा शैक्षिक विकास र पठन संस्कृतिको प्रवर्द्धनमा लाग्दा राम्राे हुन्छ।’
विज्ञप्तिमा उल्लेख छ, आयातमा लगाइएको १० प्रतिशत करको औचित्य सावित गर, होइन भने खारेज गर, तत्काल एक राष्ट्रिय पुस्तकालय र सातवटा प्रादेशिक पुस्तकालयको व्यवस्था गर र हरेक विद्यालयमा अनिवार्य बालपुस्तकालयको प्रावधानको व्यवस्था गर।