काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल’ सिजन टू को घोषणा भएसँगै कोच परिवर्तनको विषयलाई लिएर अहिले निकै खैलाबैला मच्चिएको छ। सिजन वानको कोचमा रहेका सनुप पौडेल र अभया सुब्बालाई सिजन टू बाट भने हटाइएको छ। आफूलाई जानकारी नै नदिएर कोचबाट हटाइएपछि अभया आक्रोशित भएकी हुन्।
अहिले गायक राजु लामा र गायिका आस्था राउतलाई उनीहरूको ठाउँमा राखिएको छ। गायक प्रमोद खरेल र दीप श्रेष्ठ भने यथावत नै रहेका छन्। भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले ग्रान्ड फिनालेमा सहभागी नहुँदा हेडक्वार्टरले नै असन्तुष्टि जनाएपछि अभयाको ठाउँमा अर्को विकल्प खोजिएको हो। विकल्प खोजिएको पौडेलको यो कुरालाई अभयाले आफ्नो ब्यान्डको यूट्युब अकाउन्टमार्फत खण्डन गरेकी छिन्।
भिडियोमा अभयाले फिनालेमा उपस्थित नहुने कुरा आफूले तीन महिनाअघि नै व्यवस्थापनलाई जानकारी गराएको र व्यवस्थापनको अनुमति लिएर मात्रै आफू मेलवर्नमा कन्सर्टका लागि गएको बताएकी छिन्। साथै, उनले मूर्ख कारणहरू देखाएर आफूलाई हटाएको आरोप लगाएकी छिन्।