काठमाडौँ, ३ माघ –राजीव गुरुङ (दीपक मनाङे)ले फेरि अर्को फिल्म निर्माण गर्ने भएका छन्। यसअघि उनले आफ्नो छोरा सिद्धार्थ गुरुङको डेब्यु फिल्म ‘वान वे’मा लगानी गरेका थिए। लामो समयपछि उनी फिल्म निर्माणमा फर्किएका हुन्।
मनाङेले यसपटक भने पर्दा अगाडि नै आएर चलचित्रमा लगानी गर्न लागेका हुन्। चलचित्रमा दीपक गुण्डा नाइकेका रूपमा चिनिन्छन्। यस चलचित्रलाई शिशिर राणाले निर्देशन गर्नेछन्। बुधबार दीपक र राणाबीच औैपचारिक रूपमा कागजी सम्झौता भएको छ। चैत अन्तिम साताबाट छायाङ्कन शुरु हुने यो फिल्मका लागि केही दिनमै कलाकार छनोट गरिने निर्देशक राणाले बताए।
विवाहपछिको एक दम्पतीको प्रेमकथामा आधारित विषयवस्तुमा यो चलचित्र बन्नेछ। रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा श्यामबहादुर थापा प्रस्तुतकर्ता रहनेछन् भने कार्यकारी निर्माताका रूपमा रघु परियार र किरण नेपाली छन्। निर्देशक राणाले यो फिल्मलाई ‘सोसल ड्रामा’ भनेका छन् ।
विवाहपछिको प्रेममा आधारित हुने भएकाले फिल्ममा पाका कलाकार रहनेछन्। फिल्मको एउटा गीत रेकर्ड भइसकेको छ भने अहिले स्क्रिप्टमा काम भइरहेको छ। निर्देशक शिशिरद्वारा निर्देशित फिल्म ‘तिमीसँग’ गतवर्ष प्रदर्शनमा आएको थियो। चलेका कलाकार हुँदा पनि फिल्म बक्सअफिसमा चलेको थिएन।