काठमाडौँ– लोक गायन रियालिटी सो ‘नेपाल लोकस्टार’को आज साँझबाट प्रसारण हुने भएको छ। लोकसंगीतको विकास र प्रवद्र्धनमा लागेको चाहना मिडियाले आयोजना गरेको कार्यक्रम अबदेखि प्रत्येक बिहीवार र शुक्रवार बेलुका ८ः३० बजे एपीवान एचडी र रमाईलो एचडीवाट कार्यक्रम प्रसारण हुनेछ।
त्यसैगरी लोकस्टारको आफ्नै युट्युब च्यानलबाट ‘लोकस्टार युट्युब च्यानल’ पनि सोही समयमा लाइभ प्रसारण हुने कार्यक्रम संयोजक सहदेव कोइरालाले जानकारी दिए।
चुनौतीका बाबजुत पनि कार्यक्र प्रसारण हुन लागेको बताउँदै कोइरालाले आफूहरूको परीक्षण सुरु भएको बताए । पहिलो शो भएका कारण दर्शक/श्रोताबाट आउने प्रतिक्रिया पर्खाइमा रहेको नेपाली पब्लिकलाई कोइरालाले जानकारी दिए।
नेपालको सबै भन्दा ठूलो मौलिक रियालिटी शो भनिएको उक्त कार्यक्रममा जज अडिसनबाट १०९ जना प्रतिस्पर्धी छानिएका थिए । १०९ मध्ये ३ जनाले गोल्डेन स्टार पाएका थिए भने २२ जना अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका थिए । गोल्डेनस्टार पाउने सहित २५ प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि भिड्ने छन्।
मुलुकका विभिन्न भागमा सुनिने गाईने लोकसंगीतलाई लोकस्टारमा समावेश गरिने आयोजकको योजना रहेको छ । कार्यक्रमको ३६ शृंखला प्रसारण हुने भएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुनेले क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्नेछन। प्रतियोगिताको निर्णायकमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँण र सुनीता दुलाल रहेका छन्।
कार्यक्रम अवधिभर अग्रज कलाकारहरूलाई अतिथिको रूपमा बोलाइने आयोजकले जनाएको छ।