काठमाडौ–माध्यमिक शिक्षा परीक्षा ‘एसईई’को नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा प्रकाशित गरेको गरिएको हो । बैठकपछि बोर्डले पत्रकार सम्मेलन मार्फत् नतिजा सार्वजनिक भएको जानकारी गराएको हो ।
एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्।
यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्।
बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको छ ।
एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको थियो।
परीक्षा गत चैत १० गतेदेखि सञ्चालन गरिएको थियो । परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए ।
यसरी हेर्न सकिन्छ नतिजा:
एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिन्छ । परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ । यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सक्छन् ।
यस वर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षाअगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।
