धनगढी - तीन पटक स्थगित भएर शुरू भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रतिपक्षी सासंदहरूले रोष्ट्रमअगाडि नाराबाजी गरेपछि आज बिहीबार पनि स्थगित भएको छ। बजेट पारदर्शी नभएको भन्दै विरोध गरिरहेका प्रतिपक्षी सांसदहरूसित सदन चलाउन सरकारले बुधबार गरेको छलफल निष्कर्षविहीन भएपछि सभामुख अर्जुनबहादुर थापाले बिहीबार ३ बजेका लागि बैठक राखेका थिए।
बैठक शुरू भएको सभामुख थापाले जानकारी गराउनासाथ प्रतिपक्षी सांसदहरूले जुरुक्क उठ्दै रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेपछि सभामुखले आइतबार दिउँसो ३ बजेसम्ममा लागि प्रदेश सभाको बैठक स्थगित गरेका हुन्।
सरकारले प्रस्तुत गरेको बजेटमा असहमति राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीसित बजेटका विषयमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार गरेको छलफल निष्कर्षविहीन भएको थियो। प्रतिपक्षी दलको तर्फबाट वार्ताको नेतृत्व गरेका सांसद कर्ण मल्लले आफूहरूले उठाएका एजेण्डामा सरकार गम्भीर नभएका कारण छलफल निष्कर्षमा पुग्न नसकेको बताए।
आर्थिक ममिला तथा योजना मन्त्री बोहराले आइतबार सदनको बैठक राखिएको र उक्त दिनसम्ममा दुवै प्रतिपक्षीहरूसित सहमति हुने विश्वास व्यक्त गरे।