काठमाडौँ – ‘कोरिया कविता कन्सर्ट’मा नवराज पराजुली गुञ्जने भएका छन्। असार १५ गते सोलमा हुन लागेको कविता कन्सर्टका लागि कवि नवराज पराजुली कोरिया जाने भएका हुन्।
झापाली समाजले सञ्चालन गरिरहेको ‘पाथीभारा शेल्टर’को व्यवस्थापनार्थ च्यारिटीस्वरुप कोरिया कविता कन्सर्ट ‘२०१९’ आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष नवीन बाँस्कोटाले बताए। पराजुलीलाई पहिलोपटक झापाली समाज कोरियाले निमन्त्रणा गरेको हो।
नवराजले जर्मनी, अस्ट्रेलिया, बेलायत, दुबई, फिनल्यान्ड, डेनमार्क, नर्वेलगायत मुलुकका दर्जनभन्दा बढी कविता मञ्चनमा कन्सर्ट गरिसकेका छन्। झापाको दुर्गम दक्षिणी गाउँमा जन्मिएका पराजुली चर्चित कवि हुन्। फाइन प्रिन्टबाट प्रकाशित उनको पहिलो कविता संग्रह ‘सगरमाथाको गहिराइ’लाई २०७३ सालको ’पद्माश्री साहित्य पुरस्कार’ प्रदान गरिएको थियो। कविताका साथै उनी कविता प्रस्तुति शैलीका कारण लोकप्रिय बनेका छन्।