काठमाडौँ - भारतीय इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) को २०औँ संस्करणका लागि सरकारले एक अर्ब खर्चिनेबारे नेकपाका नेता भीम रावलले आश्चर्य व्यक्त गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं नपाले ४४ करोड दिने, नेपालको करिव १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खवर सुन्दा आश्चर्य लागेको छ। यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ? नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि ?’
नेपाल सरकार आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्डको लागि एक अर्ब खर्चिने भएपछि यसको चौतर्फि विरोध भएको हो। सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् भने बाँकी अहिले दाबी गरिएअनुसार ५ सयभन्दा बढी भारतीय ‘आईकन’ तथा कलाकारको आवतजावत टिकट, होटल बसाइसमेत सौजन्य सहयोग गरिनेछ।
गत अप्रिल पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणताका काठमाडौंमा आइफाको २०औँ संस्करण गर्ने प्रारम्भिक सहमति जुटेको थियो। भ्रमण दलमा अभिनेता राजेश हमालसहितका केही कलाकार पनि समेटिएका थिए। उक्त भ्रमणमा सहभागी कलाकार दिनेश डीसीका अनुसार प्रधानमन्त्री ओलीले भारतीय कलाकार जया प्रदा, गोविन्दाकी श्रीमती सुनिता, राजपाल यादव, अमिसा पटेल आदिलाई भेट गरेका थिए।