निशा भण्डारी, नवलपुर– विश्वको प्रसिद्ध धार्मिक स्थल सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम छ। गुल्मी, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल कालीगण्डकी नदीको जलस्तर बढे पनि शालिग्राम भने कहिल्यै नडुब्ने जनविश्वास छ।
यस धार्मिक स्थलमा शालिग्रामका साथै चक्रदेवी, बसाहा, दुर्गा, शिवालय, सीताराम मन्दिर पनि रहेका छन्। तर यहाँ शालिग्रामकै विशेष महत्व छ।
२० वर्षदेखि शालिग्रामको रेखदेख गर्दे आएका पुजारी हरि पराजुलीले शालिग्रामको महत्वबारे जानकारी दिँदै भने, ‘दिनमा शालिग्राममा शङ्ख बजेको र गाई कराएको आवाज आउँछ। धार्मिक आस्था राख्नेहरू शालिग्रामको पूरा गरेपछि चिताएको पुग्छ भन्दै भक्तजनहरू आउँछन्।’
धार्मिक मान्यता अनुसार पूर्वबाट बग्ने सेती खोला र मुक्तिनाथबाट आएको कालिगण्डकी यी दुई नदीको वेणी हुनाले यसलाई सेतीवेणी भनिएको हो। शालिग्राम वरपर नदीले कटान गरेको छ। तीन जिल्लाको संगम यस धार्मिक स्थलको संरक्षण कसले गर्ने भन्ने विवादले यहाँ सोचे अनुरूप विकास हुन नसकेको पुजारी पराजुलीले बताए। सो स्थलको संरक्षण र विकास नहुँदा सेतीवेणी बजारको व्यापारिक, पर्यटकीय विकासका योजनाका कामहरू ओझेलमा परेको उनी बताउँछन्।
५० वर्षदेखि सेतीवेणीमा व्यापार गर्दे आएका प्रेम अर्यालले बजार खस्कँदै गएको बताए। उनले भने, ‘दिन प्रतिदिन बजार ९० प्रतिशतले खस्किँदै गएको छ। नेपाल कला, धर्म र संस्कृतिको धनी देश हो। यस्ता धार्मिक स्थल ओझेलमा पर्दै गए संस्कृति नै धरापमा पर्छ।’
आन्तरिक र वाह्य पर्यटनको सम्भावना बोकेको शालिग्राम र सेतीवेणी क्षेत्रको विकासमा तिनै जिल्लाका जनप्रतिनिधिहरू कसैले पनि ध्यान नदिएको स्थानीयवासीको गुनासो छ।