काठमाडौँ, ३ माघ – नायक आयुष्मान देशराज जोशी निर्देशक युगेश गुरुङको ‘सानो मन’ चलचित्रपछि आफ्नो विवाहको तयारीमा लाग्दैछन्। उनी चलचित्र ‘चपली हाइट’को दोस्रो सिरिजबाट नेपाली चलचित्रमा उदाएका हुन्। जोशी करिब डेढ वर्षदेखि चर्चित अभिनेत्री प्रियंका कार्कीसँग डेट गरिरहेका छन्। प्रियंका र आयुष्मानको इन्गेजमेन्ट पनि भइसकेको छ। अब उनीहरू बिहेको तयारीमा छन्।
चलचित्र ‘कथा काठमाण्डू’को सेटबाट झाँगिएको सम्बन्धले अहिले उनीहरूको ‘प्रोफेसनल लाइफ’लाई समेत चम्काएको छ। यसपछि उनीहरूले ‘चङ्गा चेट’मा सँगै काम गरेका थिए। यो जोडीलाई पर्दामा पनि दर्शकले धेरै रुचाएका छन्।
आयुष्मान–प्रियंकाको जोडीलाई लिएर चलचित्र बनाउन चाहने निर्माता/निर्देशकहरू अहिले बढ्दै गएका छन्। हालै छायाङ्कन सकिएको योगेश घिमिरे निर्देशित चलचित्र ‘प्रेम दिवस’मा पनि ‘आयांक’ जोडी प्रियंका र आयुष्मानलाई प्रेमी–प्रेमिकाका रूपमा देख्न पाइनेछ।
फागुनको अन्तिमबाट भने यो जोडी बिहेको तयारीमा लाग्ने सोचमा छन्। त्यसकारण उनीहरूले अब कुनै चलचित्रमा साइन नगर्ने निर्णय लिएका छन्।
आयुष्मान अर्को हप्ताबाट चलचित्र ‘सानो मन’को छायाङ्कनमा व्यस्त हुँदैछन्। यो चलचित्रपछि बिहेको तयारीमा लाग्ने उनी बताउँछन्। चलचित्रको घोषणासभामा उनले भने, ‘यो पछि कुनै चलचित्रमा साइन गरेको छैन, अब बिहेको तयारीमा लाग्छु।’ यो चलचित्र मैले धेरै अगाडि साइन गरेको हुँ, यो चलचित्रपछि बिहे अगाडि कुनै चलचित्र नगर्ने उनले बताए। आगामी असारमा प्रियंका र आयुष्मान वैवाहिक सम्बन्धमा गाँसिँदैछन्।