काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बाँसखेडाका माधव कलौनी सोही नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयमा कक्षा ९ मा पढ्थे।
सामान्य विषयमा उनको आफ्नै कक्षाका साथीसँग झगडा भयो, विद्यालयबाहिर। उक्त विषय विद्यालयसम्म पुग्यो। विद्यालयका प्रध्यानाध्यापक यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीले माधवलाई बोलाएर कुटपिट गरे। कुटपिटबाट घाइते बनेका माधवको अन्ततः १२ दिनपछि उपचारको क्रममा मंगलबार राति भारतको राममूर्ति अस्पतालमा मृत्यु भयो।
साथीसँग विद्यालयबाहिर झगडा भएको विषयलाई लिएर प्रध्यानाध्यापक र तीन शिक्षकले कुटपिट गर्दा माधवको मृत्यु भएको बुवा वृहस्पति कलौनीले बताए। कक्षा ९ मा अध्ययनरत माधवमाथि असार १३ गते शुक्रबार विद्यालयमै कुटपिट भएको थियो। कुटपिटबाट कलौनीको टाउको र छातीमा चोट लागेको थियो भने दायाँ खुट्टा भाँचिएको थियो।
शिक्षकको कुटपिटबाट घाइते विद्यार्थीको कञ्चनपुरकै महाकाली अस्पताल, डडेल्धुराको उपक्षेत्रीय अस्पताल, धनगढीको सेती अस्पताल, नेपालगन्जको शिक्षण अस्पतालमा उपचार गराइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि तीन दिनअघि मात्रै माधवलाई भारत लगिएको थियो। शिक्षकको कुटपिटबाट मृत्यु भएका माधवका बुवा वृहस्पतिले भने, ‘उपचारका लागि भारत लगेको तीन दिनमै छोराको मृत्यु भयो। छोरालाई कुटपिट गर्नेमाथि कडा कारवाही होस्।’
कुटपिटपछि विद्यालयबाट निकाला
घटना असार १३ गतेको भए पनि परिवारले १५ गते मात्रै जानकारी पाएका थिए। डरले गर्दा माधवले परिवारसँग आफूमाथि भएको कुटपिटबारे भनेका थिएनन्। असार १५ गते विद्यालयबाट माधवका बुवालाई फोन आयो, ‘तपाईंको छोराले ठूलो गल्ती गरेको छ, हामी हाम्रो विद्यालयमा पढाउन सक्दैनौँ, तपाईं विद्यालय आउनुस्।’
फोन आएपछि विद्यालय पुगेका कलौनीलाई विद्यालयले छोराका शैक्षिक कागजात (ट्रान्सक्रिप्ट सर्टिफिकेट र क्यारेक्टर सर्टिफिकेट) दिएर छोरालाई जिम्मा लगाएदिए। उनले विद्यालय प्रशासनलाई भनेका थिए, ‘छोरोले जे गल्ती गर्यो माफ गरिदिनुहोला, प्रहरीमा उजुरी नगर्नुहोला।’
घरमा छोरासँग बुझ्दा साथीसँग झगडा भएको रहेछ। उनले भने, ‘त्यसपछि मात्रै माधवले कुटपिटको पीडा सहन नसकेर घटनाबारे हामीलाई भन्यो। सामान्य विषयमा कुटपिट गर्नुका साथै विद्यालयबाटै निकालिदिए। हामीले प्रहरीमा उजुरी दियौँ।’ माधवले अन्य विद्यार्थीसँग झगडा गर्ने, खुकुरी बोकेर हिँड्ने गरेको आरोप विद्यालय प्रशासनले लगाएको छ।
मृतक विद्यार्थीका मामा पुष्पमणि जोशीले भने, ‘भान्जा (मृतक विद्यार्थी माधव कलौनी)ले नराम्रो काम गरेपछि विद्यालयबाट निकाल्ने अधिकार उनीहरूलाई छ। तर, मृत्यु हुनेगरी कुटपिट गर्ने अधिकार त नहोला नि ! त्यसैले उनीहरूलाई कडा कारवाहीको माग गर्दछु।’
तीन शिक्षक पक्राउ
विद्यार्थी कुटपिटमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तीन शिक्षकलाई पक्राउ गरेको छ। कञ्चनपुरका एसपी जनकराज पाण्डेले भने, ‘पीडित परिवारको किटान जाहेरीका आधारमा शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलालाई पक्राउ गरेका छौँ। विद्यार्थीको मृत्युपछि सुरक्षाका कारण प्रध्यानाध्यापक यशोदा जोशीलाई हामीसँगै राखेका छौँ। जोशीलाई पक्राउ चाहिँ गरिएको हैन।’
उनले विद्यार्थीलाई कुटपिट गरेको विषयमा किटानी जाहेरी परेको बताए। मृतक विद्यार्थीलाई भारतको राममूर्ति अस्पतालमा पोस्टमार्टमपछि कञ्चनपुर ल्याइँदैछ। पोस्टमार्टम रिपोर्टपछि कुटपिटबाटै मृत्यु भएको हो वा होइन खुल्ने उनले नेपाली पब्लिकलाई बताए। उनले पक्राउ परेका शिक्षकमाथि अनुसन्धान शुरू गरिएको जानकारी दिए।
दोषीलाई कारवाही गर्न माग
कञ्चनपुरका विभिन्न विद्यार्थी संगठनले घटनाको अनुसन्धान गरी दोषीमाथि कारवाहीको माग गरेका छन्। अनेरास्वियू, नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौंले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन र दोषीमाथि कारवाहीको माग गरेका हुन्।
जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको घटनाको घोर भत्र्सना गर्दछौँ। विद्यालयजस्तो शान्ति क्षेत्रभित्र शिक्षकजस्तो उज्यालो छर्ने व्यक्तिहरूबाट यस्तो क्रूर र अमानवीय घटनाको छानविन गर्दै दोषीहरूमाथि हदैसम्मको कारवाही गर्न माग गर्दछौँ।’