काठमाडौँ – नेपाल संगीत उघोग संघद्वारा आयोजित प्रथम ऐतिहासिक राष्ट्रिय म्यूजिक अवार्ड २०७६ को आवेदन फारम खुला गरिएको छ। संगीत व्यवसायीहरुको एकमात्र पेशागत छाता सङ्गठन ‘नेपाल संगीत उद्योग संघ’ले स्थापनाको २७औँ वर्ष पूरा गरेको अवसरमा म्युजिक अवार्डको कार्यक्रम गर्ने भएको हो।
संघले पत्रकार सम्मेलनमार्फत ‘नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, व्यवसायिक एकता सहितको हाम्रो पहिचान’ भन्ने नारासहित ‘नेपाल संगीत उद्योग सङ्घ राष्ट्रिय म्युजिक अवार्ड’ को आयोजना गर्न लागिएको जानकारी दिएको छ। उक्त कार्यक्रममा प्रसिद्ध कलाकार मह जोडीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिने संघका महासचिव खगेन्द्रकुमार लिम्बूले जानकारी दिए।
अवार्डको लागि पछिल्लो १५ महिना अर्थात् २०७५ वैशाख १ देखि २०७६ असार मसान्तसम्ममा प्रकाशित सिर्जना र तिनमा आवद्ध सर्जक, कलाकार एवं प्राविधिकहरुले फारम भर्न पाउनेछन्। फाराम भर्नका लागि साउन महिनाको दोस्रो साता वा साउनमसान्त सम्मकाे समयावधि तोकिएको संघले जनाएको छ।
अवार्डका लागि आवेदन दिँदा हरेक विधामा रू १ हजार शुल्क तोकिएको छ। कुनै गीतको म्युजिक भिडियो नबनेको भए पनि सो गीतका गायक–गायिकाले भने प्रतिस्पर्धाका लागि फारम भर्न सक्नेछन्।
आवेदनका फाराममा लोकदोहोरी र लोकजुहारीमा १७–१७, पप गीतमा १५, भाषाभाषी गीतमा १२, आधुनिकमा १६ र चलचित्र गीतमा १२ विधा छुट्याइएको छ। भाषाभाषी विधामा भने सर्वोत्कृष्ट गीतका लागि मात्र फारम भर्न सकिने छ।
आवेदन फारममा मगर, गुरुङ, तामाङ, लिम्बू, नेवारी, मैथिली, भोजपुरी, राई, थारु, देउडा र याक्खा भाषा उल्लेख गरिएको भए पनि अन्य भाषाका गीतमा समेत आवेदन दिन सकिने संघका महासचिव लिम्बूले जानकारी दिए। उनका अनुसार सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, दशक गीत र म्युजिक कम्पनीका विधामा समेत अवार्ड दिइने भए पनि यि विधामा प्रतिस्पर्धा गराइने छैन। अप्रतिस्पर्धी ३ सहित ९० भन्दा बढी विधामा अवार्ड प्रदान गरिने संघले जनाएको छ।