काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको १३औँ शैक्षिक मेला अविरल वर्षाका कारण नराम्रोसँग प्रभावित बनेको छ। भृकुटीमण्डपमा सञ्चालित उक्त मेलाको आज दोस्रो दिन भारी वर्षाका कारण अवलोकनकर्ताहरु पहिलो दिनको अनुपातमा अत्यन्तै कम मात्र आएको आयोजकले जानकारी दिएको छ।
स्वदेशी तथा विदेशी शैक्षिकसंस्थाहरू, विश्वविद्यालयहरू र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति सुविधा एवं गुणस्तरीय शिक्षामा विद्यार्थीहरूको पहुँचका लागि परामर्श सेवा प्रदान गर्ने यो मेलाको उद्देश्य हो। चार दिनसम्म चल्ने उक्त शैक्षिक मेलामा एक लाख ५० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने इक्यानको अनुमान थियो। तर, वर्षातका कारण आयोजकको यो अनुमान पूरा नहुने अवस्था उत्पन्न भएको छ। शुक्रबारको अविरल वर्षा र अवलोकनकर्ताको कमीका कारण केही स्टलमा शैक्षिक परामर्श व्यवसायीसमेत नबसेको देखिन्थ्यो। वर्षातको पानी पस्नाले केही स्टलमा आंशिक क्षति पनि पुगेको छ।
आयोजकले दिएको जानकारी अनुसार मेला स्थलमा ३ सय २८ स्टल छन्। मेला संयोजक दिपकराज भुषालका अनुसार प्रति स्टल ३० हजार रुपैयाँ र अतिरक्त भ्याट भाडा तोकिएको छ। अवलोकनकर्ताको कमीका कारण स्टल राख्ने शैक्षिक संस्थाहरु निराश देखिँदैछन्। यद्यपि मेला संयोजक भुषाल भने मेला अवधि अझै दुई दिन बाँकी रहेकाले स्टल राख्ने शैक्षिक संस्थाहरु निराश भईहाल्नुपर्ने अवस्था नभएको बताउँछन्। संयोजक भुषालले भने, ‘पानी परिरहेकै अवस्थामा पनि भिजिटरहरु आइरहेका छन् तर हाम्रो अपेक्षा अनुसार भएन भन्ने दुखेसो मात्र हो। यद्यपि हिजो उद्घाटनपछि जुन उत्साहका साथ भिजिटरहरु सहभागी भएका थिए, आज पानीका कारणले त्यति छैनन्।’
मेलामा स्टल राख्ने शैक्षिक व्यवसायीहरुलाई अहिल्यै नआत्तिन आग्रह गर्दै भुषालले भने, ‘ भोलि शनिबार र पर्सि आइतबारको दिन हामीसँग अझै समय छ, पानी परेन भने हामीले अपेक्षा गरेअनुरुप भिजिटरहरु आउनु हुनेछ, अहिल्यै निरुत्साहित हुनु जरुरी छैन।’ इक्यानका महासचिव शेषराज भट्टराईले आज शुक्रबार २५ हजार विद्यार्थीले मेला अवलोकन गर्ने अपेक्षा लिएको बताउँदै उनले भने, ‘तर पानीका कारण त्यो अपेक्षा पूरा नहुने भयो।’
यस मेलामा शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसियालगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ।
मेलामा तीन सय २८ वटा स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको छ। असार २९ गते आइतबारसम्म चल्ने मेलामा चारै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्थासमेत गरिएको महासचिव भट्टराईले नेपाली पब्लिकलाई जानकारी दिए।
