काठमाडौँ, ३ पुस – पुस महिनामा जति पनि चलचित्र प्रदर्शनका लागि हलमा आए, प्रदर्शन मात्र भयो दर्शकको मनमुटुमा बस्न सफल भएन। अर्थात् व्यावसायिक हिसाबले भन्ने हो भने पुस महिनामा प्रदर्शित चलचित्रले घाटा व्यहाेर्नु परेको छ।
पुसलाई अत्यधिक जाडो हुने महिना पनि मानिन्छ। यो महिना शुरु भएपछि शहरबजार र गाउँटोलमा चहलपहल निकै कम हुन थाल्छ। किनकि, कठ्याङ्ग्रिँदो जाडोका कारण घरबाट बाहिर निस्कन कोही चाहँदैनन्। यस महिनामा विभिन्न ठाउँमा जाडोका कारण धेरैको मृत्यु हुने गरेको खबर पनि आइरहेको हुन्छ।
पुस महिना आम सर्वसाधारणलाई मात्र नभएर नेपाली चलचित्रका लागि पनि शुभ मानिँदैन। पुस महिना शुरु भएपछि हलमा दर्शकको भीड देखिनु भनेको मरुभूमिमा पानी भेट्नुसरह हो। जाडोका कारण दर्शकले हलसम्म पुग्ने जाँगर नचलाउने हुँदा फिल्म निर्माता यस महिनामा सकभर फिल्म रिलिज गर्न अगाडि सर्दैनन्।
यस पटकको पुसमा बलिउड चलचित्र प्रदर्शन भए भने नेपाली चलचित्र खासै रिलिज भएनन्। लगातार तीन हप्ता ‘जिरो र सिम्बा’ले बक्सअफिस कब्जा गरे। महिनाको अन्तिम हप्ता चाहिँ दुई आश गरिएका नेपाली चलचित्र रिलिज भए– ‘चौका दाउ र भिलेन’। दुवै चलचित्रमा दर्शकले पत्याएका कलाकारहरूको अभिनय थियो। तर, कलाकार चलेका भए पनि दर्शकले हलसम्म पुग्ने जाँगर चलाएनन्। अन्ततः दुवै चलचित्रले बक्सअफिसमा घाटा खाए ।
चलचित्र कलाकारहरूका कारणले मात्र चल्ने भन्ने हुँदैन। यदि क्रेज राम्रो भएका कलाकारको चलचित्र बक्सअफिसमा चल्ने हुन्थ्यो भने प्रदीप खड्कको ‘रोज’, आकाश श्रेष्ठको ‘ड्रिम गर्ल’, साम्राज्ञी आरएल शाहको ‘कायरा’ र तिमीसँग’ सफल हुन्थे तर त्यसो भएन। दुई दिन हलमा दर्शक तान्ने र चलचित्रलाई ब्रान्डिङ गर्ने काम मात्र स्टार कलाकार हुँदा हुन्छ।
बक्सअफिसमा सफलताको झण्डा गाड्न चलचित्र आफैँमा शक्तिशाली हुनुपर्छ। कमजोर चलचित्र डुब्छन्न् नै, त्यसमा कुनै सन्देह छैन। राम्रा चलचित्रको इनिसियल बक्सअफिस कलेक्सन कमजोर हुनसक्छ तर उच्च ‘वर्ड अफ माउथु’ले आइतबार र सोमबारबाट चलचित्रले ‘पिकअप’ लिन थाल्छ। उदाहरणका लागि ‘बोबी’लाई हेर्न सकिन्छ । यो फिल्मले प्रदर्शनको ४ दिनपछि गति समातेको थियो।
हालै हामीबाट बिदा भएको यस वर्षको पुस अन्तिम साता रिलिज भएका दुई नेपाली चलचित्र ‘चौका दाउ’ र भिलेन’ किन असफल भए? पुसको जाडोको असरले वा फिल्म नै कमजोर भएर। जाडोको असर धेरथोर परे पनि चलचित्र हेरेका दर्शकले दुवै चलचित्रलाई रुचाएनन्, जसको असर सीधै बक्सअफिसमा पर्याे।
गएको एक दशक अगाडि नायक निखिलका फिल्म भनेपछि दर्शकमा छुट्टै रौनकता थपिन्थ्यो। खडेरी लागेको फिल्मको व्यापार चलायमान हुन्थ्यो। तर, अहिले समय फेरिएको छ। अनमोल र प्रदीपको युगमा निखिलका फिल्म भनेपछि अब दर्शकले मन मार्न थालेका छन्। जसको उदाहरण ‘भिलेन’सँगै ‘रुद्र’ र ‘पिँजडा ब्याक अगेन’ हो। ‘भिलेन’को व्यापारिक असफलताले निखिलको स्टारडम थप शिथिल भएको छ। उनका पछिल्ला चलचित्र बक्सअफिसमा असफल हुनुले एक्सनले मात्र चलचित्र चल्दैन भन्ने सन्देश दिएको छ। चलचित्रले दर्शकलाई हलसम्म तान्न कथा र प्रस्तुति दुवैै पावरफुल हुनुपर्छ।
चलचित्र ‘चौका दाउ’ नचल्नुमा पनि कथा र प्रस्तुतिलाई नै दोष दिइएको छ। पुणेन्द्ररु झा निर्देशित फिल्ममा नाम चलेका पुराना र नयाँ कलाकारहरूको अभिनय थियो। तर, कथाभित्रको कथामा मसला नपुगेको आरोप टिमले खेप्नुपर्याे। यो चलचित्रबाट निर्माण टिमलाई असर परेको छ भने अभिनेत्री वर्षा राउतको करिअरमा पनि असर पुग्ने देखिन्छ।
चलचित्र चलेको भए वर्षाको सोलो हिरोइनमा बिक्ने रहर पूरा हुने थियो। उनको त्यो सपना सपनै रह्यो। समीक्षक र दर्शकले ‘चौका दाउ’मा उनको अभिनय र चरित्र रुचाएनन्। समीक्षक गोकर्ण गौतमले चलचित्रको समीक्षा गर्दै वर्षाबारे टिप्पणी गरेका छन्, ‘यो तरिकाले बल्लतल्ल बनेको उनको साखमा गिरावट आउनेछ।’ यो चलचित्र एक हिन्दी फिल्मबाट प्रभावित थियो।
अन्ततः यस वर्षका लागि पुस महिनाले बिदा मागिसकेको छ। अहिले माघ महिनाको घाम लाग्न थालेको छ। यो महिनामा पनि दर्शकले आश गरेका चलचित्र रिलिज हुँदैछन्। माघभरि ‘गरुड पुराण’, ‘रणवीर’, ‘गोपी’, ‘समर लभ’, ‘सयकडा दश’ लगायतका चलचित्रको हलमा दबदबा रहनेछ।